त्रिदेशीय कपका लागि किरण चेम्जोङको कप्तानीमा टिम घोषणा

त्रिदेशीय फुटबल प्रतियोगिताका लागि बुधबार नेपाली टोलीको घोषणा गरिएको छ । नेपाली टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बुधबार गोलकिपर किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय टिमको घोषणा गरेका हुन् । गोलकिपर दीप कार्की, डिफेन्डर निशान खड्का र छिरिङ गुरुङ, मिडफिल्डर त्रिदेभ गुरुङ र सन्जोग राई पहिलो पटक टिममा परेका छन् ।

टोलीको गोलरक्षकमा किरणसहित कार्की र विकेश कुथु छन् । रक्षकमा रञ्जित धिमाल, निशान लिम्बु, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, विराज महर्जन र छिरिङ गुरुङ छन् । मिडफिल्डरमा त्रिदेभ गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक विष्ट, सन्जोग राई, विशाल राई, सुनिल बल र रवि शंकर पासवान छन् ।

स्ट्राइकरमा अञ्‍जन विष्ट, दर्शन गुरुङ, अविशेक रिजाल र भरत खवास छन् । गोलकिपरद्वय विशाल श्रेष्ठ र विशाल सुनुवार, डिफेण्डर पाल्साङ लामा, सुरज विक र विकास खवास, मिडफिल्डर हेमन्त थापा मगर र सन्तोष तामाङ तथा फरवार्ड नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की, आशिष लामा टिममा पर्न सकेनन् ।

मंगलबार साँझ दशरथ रंगशालामा भएको पहिलो खेलमा किर्गिस्थानलाई १–० ले पराजित गर्दै बंगलादेशले विजयी सुरुवात गरेको छ ।

नेपालले पहिलो खेल बिहीबार किर्गिस्तानसँग खेल्दैछ । दोस्रो खेल नेपाल र बंगलादेशबीच हुनेछ । राउण्ड रोबिनको आधारमा शीर्ष दुई टिमले फाइनल प्रतिस्पर्धा गर्नेछन् । फाइनल चैत १६ गते हुने एन्फाले जनाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार