सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भद्र भण्डारी सम्पर्कविहीन भएका छन् । न्यु बुलबुले अटो सेल्सका सञ्चालकसमेत रहेका भण्डारी केही दिनदेखि कसैको सम्पर्कमा नरहेको सुर्खेत उद्योग वाणिज्य संघले जनाएको छ ।
महासचिव भण्डारी कैलालीको कर्णाली चिसापानीबाट सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । भण्डारी चढ्ने गाडी चिसापानीमा फेला परेको इलाका प्रहरी कार्यालय चिसापानीका निरीक्षक टेकराज जोराले जानकारी दिए । उनका अनुसार भण्डारीले प्रयोग गर्ने बा १८ च ९८७५ नम्बरको गाडी बिहीबार कैलालीको लम्किचुवा नगरपालिका कर्णाली चिसापानीस्थित एक होटलमा बेवारिसे अवस्थामा भेटिएको थियो ।
प्रहरी निरीक्षक जोराले भण्डारीका मोबाइल, गाडीको चाबीलगायत सामान गाडीमै भेटिएको जानकारी दिए ।
‘उहाँ चढ्ने गाडी केही दिनअघि एक होटलमा भेटिएको थियो । उहाँका परिवार पनि हाम्रो सम्पर्कमा आउनुभएको छ’, प्रहरी निरीक्षक जोराले भने, ‘उहाँको अवस्था हालसम्म पनि अज्ञात छ, हामीले उहाँको हुलिया सार्वजनिक गरेर खोजीका लागि सबै ठाउँमा खबर गरेका छौँ ।’
भण्डारी जेठ २२ गते टीकापुर गएर बसेको र २३ गतेदेखि सम्पर्कविहीन भएको उनले बताए ।