जसपा लुम्बिनीका चार सांसदको मुद्दा अब पूर्ण इजलासमा

जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेशका चार सांसदको पद रहने कि नरहने भन्ने मुद्दा अब पूर्ण इजलासमा पठाइने भएको छ ।

उपेन्द्र यादव पक्षको कारवाहीपछि प्रदेशसभा सदस्यबाट पदमुक्त भएका सन्तोषकुमार पाण्डेयसहित चार जना सांसद सर्वोच्चको अन्तरिम आदेशपछि पुनर्वहाली भएका थिए । उनीहरू चारैजना अहिले मन्त्री छन् ।

न्यायाधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले लुम्बिनी प्रदेशसभा सांसदहरुको रिटको छिनोफानो पूर्ण इजलासबाट गर्ने निर्णय गरेका हुन् । सर्वोच्च अदालतले यसअघि निलम्बित सांसदहरुको पक्षमा अन्तरिम आदेश जारी गरेको थियो ।

अदालतले प्रदेश निर्वाचन आयोग लुम्बिनीको लिखित जवाफ म्यादभित्र पेस नभएको र अन्यको लिखित जवाफ पेस भइसकेको भन्दै रिट निवेदनको संवेदनशीलतालाई विचार गरी असार २१ गते पूर्ण सुनुवाइको आदेश दिएको छ ।

कार्यकारिणी समितिको निर्णयअनुसार संसदीय दलको पत्रका आधारमा लुम्बिनी प्रदेश सभाले प्रदेश सांसदहरु पाण्डेयसहित, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई प्रदेश सभा सदस्यबाट निष्कासन गरेको थियो । त्यसैका विरुद्ध उनीहरु सर्वोच्च अदालत पुगेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार