चालु आर्थिक वर्षको १० महिनामा वैदेशिक व्यापार र रेमिट्यान्समा सुधार आएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनले समग्र व्यापार घाटामा १५ दशमलव ९ प्रतिशतले कमी आएको देखाएको छ । चालु आर्थिक वर्षको १० महिनामा निर्यात २४ दशमलव ५ प्रतिशत र आयात १६ दशमलव ८ प्रतिशतले घटेको छ । त्यस्तै रेमिट्न्स आप्रवाहमा पनि सुधार देखिएको छ ।
गत वर्ष सोही अवधिका शून्य दशमलव ५ प्रतिशत घटेको रेमिट्यान्स यस वर्ष भने २३ दशमलव ४ प्रतिशतले बढेर १० खर्ब ५ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३ दशमल ४ प्रतिशतले बढेर ७ अर्ब ७० करोड डलर पुगेको छ ।
त्यस्तै वार्षिक उपभोक्ता मुद्रास्फिति ७ दशमलव ४१ प्रतिशत छ । जुन गत वर्ष ७ दशमलव ८७ प्रतिशत थियो । पर्यटन आगमन वृद्धि भएसँगै भ्रमण आय पनि ९३ प्रतिशतले बढेर ५१ अर्ब ८८ करोड पुगेको छ । गत वर्ष यो अवधिका भ्रमणबाट २६ अर्ब मात्रै आय भएको थियो ।
त्यस्तै १० महिनासम्म चालु खाता घाटा ५४ अर्ब ६७ करोड पुगेको छ । जुन गत वर्ष यसै अवधिमा ५ खर्ब ४५ अर्ब घाटामा थियो । वैदेशिक व्यापारमा सुधार, रेमिट्यान्स आप्रवाहमा वृद्धि र पर्यटक आगमन बढ्दा वैदेशिक मुद्राको सञ्चिती २० दशमा ९ प्रतिशतले बढेर १४ खर्ब ७० अर्ब ३३ करोड पुगेको छ ।
आव २०७८/०७९ मा नेपालबाट भारततर्फ १० महिनामा १ खर्ब ३७ अर्ब १७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो । तर, चालु आवको १० महिनामा भने नेपालबाट भारततर्फ ९१ अर्ब १४ करोड ८० लाख रुपैयाँको वस्तु निर्यात भएको छ ।
अर्कातिर, नेपालबाट चीनतर्फ हुने निर्यातमा भने शतप्रतिशतले वृद्धि भएको छ । गत आव २०७८/०७९ मा नेपालबाट चीनतर्फ ६७ करोड ४५ लाख बराबरको वस्तु निर्यात भएको थियो । चालु आवमा भने नेपालबाट चीनतर्फ १ अर्ब ३५ करोड २९ लाख बराबरको वस्तु निर्यात भएको छ ।
चीन र भारत बाहेक अन्य देशमा नेपालबाट हुने निर्यातमा पनि वृद्धि भएको छ । गत आवको १० महिनामा नेपालबाट ३५ अर्ब ४९ करोड ७१ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।
चालु आवको १० महिनामा चीन र भारतबाहेकका देशहरुमा नेपालबाट ३८ अर्ब ३९ करोड ९२ लाख बराबरको वस्तु निर्यात भएको छ ।
चीन र भारतबाहेकका देशहरुमा हुने निर्यातमा ८.२ प्रतिशतको वृद्धि देखिएको छ । तर, समग्रमा नेपालबाट अन्य देशहरुमा हुने निर्यात भने विगतको तुलनामा कम छ ।
गत आवको १० महिनामा १ खर्ब ७३ अर्ब ३४ करोड ८२ लाख रुपैयाँ बराबरको निर्यातको तुलनामा चालु आवको १० महिनामा २४.५ प्रतिशतको कमी देखिएको छ । चालु आवमा नेपालबाट १ खर्ब ३० अर्ब ९० करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ।
पछिल्लो समय विश्वभर नै आर्थिक मन्दीका कारण आयात निर्यातमा कमी आएको छ । नेपालबाट हुने वस्तुहरुको निर्यातमा विगतको तुलनामा कमी आएजस्तै आयातमा पनि कमी आएको हो ।
गत आवको १० महिनामा १६ खर्ब ४ अर्ब ६५ करोड २५ लाख बराबरको वस्तुहरुको आयात भएकोमा चालु आवको १० महिनामा १३ खर्ब ३५ अर्ब ३२ करोड २५ लाख रुपैयाँको मात्रै वस्तु आयात भएको छ । गत आवको १० महिना र चालु आवको १० महिनाबीच तुलना गर्दा आयातमा पनि १६.८ प्रतिशतको कमी आएको छ ।