विमलेन्द्र, शशांक र प्रकाशमानको लञ्च मिटिङ, नेतृत्वका लागि तीनै जनाको दाबी पेस

नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा सभापतिका आकांक्षीहरुले भेटवार्ता तीव्र बनाएका छन् ।

सोमबार दिउँसो कांग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच ‘लञ्च मिटिङ’ भएको छ । सर्वसम्मत नेतृत्व चयनका पक्षमा लबिङ गर्दै आएका उपसभापति निधिले आफ्नो वैवाहिक वर्षगाँठको अवसर पारेर नेताहरुलाई निवासमै बोलाएका थिए ।

निधिको मध्यबानेश्वरस्थित निवासमा नेतात्रयबीच सोमबार दिउँसो भएको दुई घण्टा लामो भेटमा पारिवारिक र राजनीतिक छलफल भएको बताइएको छ । संस्थापन पक्षबाट सभापतिमा फेरि शेरबहादुर देउवा दोहोर्‍याउने तयारी गरेपछि उनलाई लामो समयदेखि साथ दिँदै आएका निधि असन्तुष्ट छन् । देउवाले अब आफूलाई सभापति नछोड्ने हो भने आफू अरूसँग सहकार्य गरेर अघि बढ्ने निधिले बताइसकेका छन् ।

देउवानिकट निधिको उम्मेदवारीले देउवालाई अप्ठ्यारो पर्नसक्ने आँकलन गरिएको छ । देउवाले प्रदेशगतरूपमा आफूनिकट नेताहरूसँग छलफल गरिरहेका बेला निधिले पनि महाधिवेशन केन्द्रित छलफल थालेका हुन् ।

आजको लञ्च मिटिङमा पनि तीनै जना नेताले नेतृत्वका लागि आफ्नो दावी पेस गरेका छन् । महामन्त्री कोइरालाले १४ औं महाधिवेशनबाट नेतृत्वमा परिवर्तन ल्याउनै पर्ने भएकोले सबै पक्षसँग छलफल आवश्यक रहेकोमा जोड दिएका छन् । उनले वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत पार्टीका सिनियर नेताहरूसँग छलफल गरेर आफू अगाडि बढ्ने बताएका छन् ।

पूर्वमहामन्त्री सिंहले पनि आफू सभापतिको तयारीमा रहेको भन्दै सहयोग गर्न निधि र कोइरालालाई आग्रह गरे । सिंह र कोइरालाले सभापति देउवाको विकल्पमा जोड दिएका थिए भने निधिले देउवाको सद्भाव पनि आफूले जुटाउनसक्ने र पार्टीमा एकताको सन्देश जाने बताएका थिए । छलफलमा जुटेका नेतात्रय नै कांग्रेसका संस्थापक नेताहरु विपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका छोरा हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार