दाङको तुलसीपुर उपमहानगरपालिका–११ मोतिपुरका राजेश डाँगी टन्टलापुर घामको परवाह नगरी आफ्नो खेतबारीमा पुग्छन् । उनलाई गर्मीले गर्दा निस्केको पसिनाको कुनै परवाह छैन । पसिना पुछ्दै बारीमा पुग्दा पनि उनमा उत्साह छैन । उनले १७ कट्ठामा लगाएको बन्दा यस वर्ष काम नलाग्ने भयो । बिक्री नभएपछि बस्तुभाउलाई खुवाउनुपर्ने बाध्यता आयो । “१७ कट्ठामा लगाएको हुँ, एउटा पनि बिक्री भएन”, उनले भने, “अब गाई, बाख्रालाई खुवाउनुभन्दा विकल्प भएन ।”
उनले यसरी खेती गर्न लागेको १० वर्षभन्दा बढी भयो । गएको वर्ष बन्दा राम्रै बिक्री भएको थियो । त्यही भएर पनि यस वर्ष हौसिएर उहाँले १७ कट्ठामा खेती गरेका हुन् । “गत वर्ष राम्रै माग भएको थियो, बिक्री पनि राम्रै भएको थियो”, उनले भने, “त्यही भएर मैले यस वर्ष धेरै क्षेत्रमा यो खेती गरेको हुँ ।” गएको वर्ष उनले १० कट्ठामा मात्रै बन्दा खेती गरेका थिए ।