प्रधानमन्त्रीले गरे लुम्बिनी केबलकारको उद्घाटन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी केबलकारको उद्घाटन गरेका छन्। बुटवलको बमघाटबाट पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ बसन्तपुरसम्म जोडने गरी बनाइएको लुम्बिनी केबलकारको प्रधानमन्त्री दाहालले बिहीबार उद्घाटन गरेका हुन्।

केबलकार उद्घाटन गर्न प्रधानमन्त्री दाहाल काठमाडौंबाट हेलिकोप्टरमा बुटवल पुगेका थिए। प्रधानमन्त्री दाहाल बसन्तपुर डाँडास्थित केबलकारको माथिल्लो स्टेशन पुगेर उद्घाटन गरेका हुन् । आइएमई समूहको लगानीमा यो केबलकार बनाइएको हो। केबलकार उद्घाटन पछि आयोजित कार्यक्रममा नेकपा एमालेका नेता विष्णु पौडेल, लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलगायत नेताहरू सहभागी छन् ।

वसन्तपुरमा क्यासिनोसहितको एक सय ५० कोठाको पाँचतारे होटल, रेष्टुरेण्ट, मन्दिरलगायत संरचना निर्माण गरी आकर्षक पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित यो परियोजनाका लागि पाँच अर्ब लगानी भएको हो ।  परियोजनाका लागि मुख्य लगानीकर्ता आइएमई समूह ५१ प्रतिशत र अन्यको ४९ प्रतिशत लगानी रहेको छ । केबुलकारमा २५ गोण्डुला रहने एउटा गोण्डुलामा एकैपटक आठ जनाले यात्रा गर्न सक्नेछन् भने प्रतिघण्टा अधिकतम छ सय यात्रु आवातजावत गर्न सक्ने छन् ।

विसं २०७७ फागुन १ गते शिलान्यास गरिएको केबुलकार पूर्ण क्षमतामा सञ्चालन हुँदा दैनिक पाँच हजार यात्रुले आवातजावत गर्न सक्ने कम्पनीले जनाएको छ । केबुलकारको हिल स्टेशन रहेको पाल्पा जिल्लाको तिनाउँ गाउँपालिका–३ स्थित वसन्तपुर डाँडामा कामाख्या भगवतीको मन्दिर स्थापना गरिएको छ ।

कामाख्या भगवती मन्दिर परिसरमा कैलाश पर्वत, वर, पीपल, ढुङ्गे धारा, कुण्ड, पोखरीलगायतका संरचना निर्माण भएका छन् । करिब एक हजार मिटर उचाइमा रहेको वसन्तपुरमा यसअघि पातलो बस्ती रहेको अहिले मन्दिर निर्माण भई आकर्षक धार्मिक पर्यटकीय गन्तव्य बनेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार