नक्कली भुटानी शरणार्थी प्रकरणः अभियुक्त पक्षको बहस आजबाट

नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पक्षको बहस आजबाट सुरु हुनेछ ।

हिजो मंगलबार सरकारी वकिलको बहस सकिएपछि बुधबारबाट अभियुक्त पक्षका वकिलहरूले बहस सुरु गर्दैछन् । सो बहसका लागि पूर्व महान्याधिवक्तादेखी नेपाल बार एशोसियनका बहालवाला अध्यक्षदेखि पूर्व अध्यक्षहरूले बहस गर्नका लागि नाम टिपाएका छन् ।

यसअघि नै निर्धारण भएको बहसको सयम अनुसार सरकारी वकिलले तीन दिनको बहस सकिएपछि अभियुक्त पक्षका वकिलहरुले आजबाट बहस सुरु गर्न लागेको हुन् । अभियुक्त पक्षका वकिलका लागि भने बहसका लागि ६ दिनको समय दिइनेछ ।

जिल्ला अदालत काठमाडौंमा जारी थुनछेक बहस सकिएपछि अभियुक्तहरूलाई थुनामा राखेर मुद्दा चलाउने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश दिनेछ ।

गत आइतबार देखी जारी बहसका क्रममा सरकारी वकिलले अभियुक्तहरू शक्तिशाली पहुँच भएका व्यक्तिहरू भएको हुँदा उनीहरू बाहिर आए मुद्दा प्रभावित पार्न सक्ने भन्दै पुर्पक्षका लागि थुनामै राख्नुपर्ने तर्क राख्दै आएका छन् ।

सो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, बहालवाला सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहाकार ईन्द्रजित राई, केशव दुलाल र सानु भण्डारीलगायत ३० जनालाई अभियुक्त बनाई अभियोगपत्र दायर गरिएको छ । जसमध्ये १८ जना पक्राउ परेर हिरासतमा छन भने १२ जना अझै फरार रहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार