चर्च ब्वाइज डेब्युमै लिग च्याम्पियन

चर्च ब्वाइज युनाइटेड क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिग उपाधि जितेको छ । दशरथ रंगशालामा मंगलबार भएको खेलमा थ्रीस्टार क्लबसँग गोल रहित बराबरी खेल्दै चर्च ब्वाइजले एक खेल अगावै लिग जितेको हो ।

नवप्रवेशी टोली चर्च ब्वाइज ‘ए’ डिभिजन खेलेको पहिलो वर्ष नै च्याम्पियन बनेको हो । प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका लागि अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् । यद्यपी चर्च ब्वाइजलाई लिग जित्न एक अङ्क मात्र प्रयाप्त थियो । जुन थ्रीस्टारसँगको बराबरीले सम्भव भयो ।

चर्च ब्वाइज ‘ए’ डिभिजनको डेब्युमै उपाधि जित्ने दोस्रो क्लब बनेको छ । चर्च ब्वाइज गतवर्ष ‘बी’ डिभिजन लिग जित्दै ‘ए’ डिभिजनमा बढुवा भएको थियो । यसअघि मनाङ मर्स्याङ्दी क्लबले ‘बी’ डिभिजनबाट ‘ए’ डिभिजनमा उक्लनासाथ लिग जितेको थियो ।

मनाङले २०४२ सालमा ‘बी’ डिभिजन लिग र २०४३ सालमा ‘ए’ डिभिजन लिग जित्दै कीर्तिमान बनाएको थियो । चर्च ब्वाइजले ३७ वर्षपछि मनाङको उपलब्धि भेट्टाएको हो । उपाधिसँगै चर्च ब्वाइजले ७५ लाख रुपियाँ पुरस्कार पक्का गरेको छ ।

बराबरीसँगै चर्च ब्वाइजले २५ खेलबाट ४५ अङ्क बनायो । शीर्षस्थानमा रहेको चर्च ब्वाइज दोस्रो स्थानमा रहेको मच्छिन्द्रभन्दा ६ अंकल अगाडि छ । २४ खेल सकेको मच्छिन्द्रको ३९ अङ्क छ । २५ खेलबाट २९ अङ्क बनाएको थ्रीस्टार १२औं स्थानमा छ । थ्रीस्टारलाई रेलिगेसन जोगाउन अन्तिम खेल जित्नुपर्ने बाध्यता छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार