रामकृष्णले लगाएको काम गरेका हुन्, कर हेरफेरमा संलग्नता छैन : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले करका दर हेरफेरमा कोही पनि अनधिकृत व्यक्ति संलग्न नरहेको स्पष्टीकरण दिएका छन् । प्रतिपक्षी दलहरुले जवाफ माग गरेपछि मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै अर्थमन्त्री महतले कुनै पनि अनधिकृत व्यक्तिको संलग्नता नरहेको जिकिर गरे।   करका दर हेरफेर प्रकरणमा पूर्वनासु रामकृष्ण श्रेष्ठको संलग्नताबारे स्पष्टीकरण दिँदै महतले निर्णय प्रक्रियामा कुनै संलग्नता नरहेको बताए।  ‘रामकृष्ण श्रेष्ठ भन्ने व्यक्तिले आधिकारिक व्यक्तिले लगाए अहराएको कामबाहेक अरु केही गरेको छैन।’ महतले भने, ‘भनेको कुरा इन्ट्री गर्ने काम मात्रै गरेका हुन्।’

आफूले कुनै पनि प्रभावबाट मुक्त भएर काम गरेको भन्दै शंका गर्नुपर्ने कुनै पनि कारण नरहेको दाबी गरे।   अर्थमन्त्री महतले आफूले बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश नगराइएको र कसैलाई लाभ हुने गरी करका दर पनि हेरफेर नगरेको बताए ।

आफ्नो इमान्दारिमा एक इन्च पनि नहल्लिएको भन्दै बैठकमा उनले भने, ‘इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन । निजी स्वार्थ भएकाहरु पछि लागेका छन् । भएको यही हो ।’  बजेट बनाउने बेला विचौलियालाई छेउमा पनि आउन नदिएको भन्दै उनले पूर्वनासु श्रेष्ठलाई सरकारले नै नियुक्त गरेको र इन्ट्री गर्ने कार्यमा खटाइएको जानकारी दिए । निश्चित स्वार्थ समूहले हल्ला चलाएको भन्दै मन्त्री महतले आफूले विचौलियालाई छेउमा पनि आउन नदिएको उनले दाबी गरे।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार