माओवादी केन्द्रको आकस्मिक बैठक: एमाले प्रवेश गरेकालाई कारबाही

नेकपा माओवादी केन्द्रको आकस्मिक केन्द्रीय कमिटी बैठक बसेको छ । बैठक सोमबार बिहान भर्चुअल विधिबाट बसेको हो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक परिवेश र पार्टीको भावी रणनीतिबारे जानकारी गराएका छन् ।

बैठकले माओवादी केन्द्रबाट निर्वाचन जितेका स्थानीय जनप्रतिनिधिका साथै केही केन्द्रीय नेताहरुले समेत पार्टी छाडेकाले उनीहरुलाई कारवाही गरेको छ । स्थानीय तहका वडाध्यक्षदेखि मेयर उपमेयरसम्मलाई सहित केन्द्रीय समितिका केही नेताहरुलाई माओवादी केन्द्रले पार्टी छोडेको भन्दै कारवाही गरेको हो ।

अध्यक्ष प्रचण्डले एमालेमा लागेका उनीहरुलाई कारवाहीका लागि निर्वाचन आयोगमा पत्राचार गरिए पनि हालसम्म पद रिक्त नभएकाले कानूनी प्रक्रिया पूरा गर्न बैठक बोलाइएको बताएका थिए ।

यसअघि बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले दल त्याग गरेकाहरुलाई कारबाही गर्ने निर्णयको अधिकार अध्यक्ष प्रचण्डलाई दिएको थियो । सोही अधिकारअनुसार माओवादी केन्द्रले निर्वाचन आयोगमा कारबाहीबारे जानकारी गराएको थियो । कारवाही गरेको पत्र निर्वाचन आयोगमा पठाएपनि केन्द्रीय कमिटीबाटै अनुमोदन हुनुपर्ने प्रावधानका कारण आयोगले त्यसबारे निर्णय लिएको थिएन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार