सन्दीप लामिछाने आज प्रशिक्षक मोन्टीसँगै दक्षिण अफ्रिका जाँदै

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आज दक्षिण अफ्रिका जाँदैछन् । अदालतमा मुद्दा खेपिरहेका लामिछाने जान पाउने कि नपाउने भन्ने अन्यौलता कायम रहिरहेको बेला अन्ततः प्रशिक्षक मोन्टी देसाईंसँगै उनी आज दक्षिण अफ्रिका जान लागेका हुन ।

काठमाडौं जिल्ला अदालतमा नाबालिग बलात्कार आरोपमा मुद्दा खेपिरहेका क्रिकेटर लामिछानेलाई ‘अपवाद’ का रूपमा लामो समय तारिख स्थगित गर्दै उनको दक्षिण अफ्रिका र जिम्बाबे यात्रा पक्का भएको हो। अब उनको तारिख २९ असारमा राखिएको छ ।

लामिछानेका कानुन व्यवसायीले महत्त्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगितालाई मध्यनजर गर्दै लामो समयका लागि तारिख तोकिनु पर्ने भन्दै भन्दै निवेदन दिएपछि अदालतले असार २९ को तारिख दिएको हो । जसकाकारण लामिछाने अब प्रतियोगिताभर तारिख बुझ्नका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित हुनु पर्ने छैन ।

विश्वकप छनोट खेलेर स्वदेश फर्किएपछि उनले अदालतमा नेपाल फर्किएको जानकारी गराउनेछन् भने २९ असारमा तारिख बुझे पछि त्यसको अर्को साता पेसी तोकेर सुनुवाइ सुरु गरिने गरी अदालतले व्यवस्था मिलाएको छ ।

लामिछाने आज प्रशिक्षक देसाईंसँगै  राती २ बजे अफ्रिका जाने बुझिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार