नक्कली शरणार्थी प्रकरण : जेठ ३१ गते आदेश आउने

जिल्ला अदालत, काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीहरुलाई थुन्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भन्नेबारे ३१ जेठ (अर्को बुधबार) आदेश गर्ने भएको छ ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेले दुवै पक्षको बहसका लागि समय व्यवस्थापन गर्न आदेश दिँदै त्यो दिन मध्याह्नअघि बहस टुंग्याउन आग्रह गरेका हुन् ।

जसअनुसार आज, भोलि र पर्सि अर्थात् मंगलबारसम्म सरकारी वकिलले बहस गर्नेछन् भने यसपछि बुधबारदेखि ६ दिन प्रतिवादीतर्फका वकिलले बहस गर्नेछन् । अर्थात् प्रतिवादी पक्षका वकिलले बुधबार, बिहीबार, शुक्रबार, आइतबार, सोमबार र मंगलबारभित्र बहस सक्नुपर्नेछ ।

त्यसपछि भोलिपल्ट बुधबार सरकारी वकिलले जवाफी बहस सक्ने र त्यही दिन आदेश आउनेगरी न्यायाधीश न्यौपानेले समय निर्धारण गरेका छन् ।

थुनछेक बहसपछि उल्लिखित १८ अभियुक्तलाई पुर्पपक्षका लागि जेल चलान गर्ने वा कारागारबाहिरै राखेर मुद्दा अघि बढाउने भन्ने विषयमा निर्णय हुनेछ ।

पहिलो दिन आज अभियोग दायर गर्ने सरकारी वकिलले बहस गर्ने छन् । सरकारी वकिलहरू महेश खत्री, जनक घिमिरे, सीताराम अर्याल, दिनेश भट्टराई, शेरबहादुर परियार, निर्मला मरासिनी र प्रकाश घिमिरेले बहस गर्ने सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्यूतमणि नेउपानेले जानकारी दिए ।

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १८ अभियुक्तका विषयमा न्यायाधीश न्यौपानेको इजलासमा आजदेखि थुनछेक बहस हुँदै छ । सबै अभियुक्तलाई हिरासतबाट अहिले जिल्ला अदालत काठमाडौं उपस्थित गराइएको छ ।

थुनछेक बहसको इजलासमा पूर्वउप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वसांसद आङटावा शेर्पा, शरणार्थी नेता टेकनाथ रिजाल, हज समितिका अध्यक्ष शमशेर मिया, नेपाल सरकारका निलम्बित सचिव टेकनारायण पाण्डे, सानु भण्डारी, रामशरण केसी र गोविन्द चौधरीलाई उपस्थित गराइएको हो। उनीहरुसँगै इन्द्रजित राई, नरेन्द्र केसी, सन्देश शर्मा, सन्दीप रायमाझी, टंक गुरुङ, केशव दुलाल, सागर राई, लक्ष्मी महर्जन र हरिभक्त महर्जन पनि अहिले इजलासमा छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार