नेपालमा धर्मको संख्या १० पुग्यो, १४२ जातजाति

नेपालमा धर्मको संख्या १० वटा कायम भएको छ । राष्ट्रिय जनगणना, २०७८ अनुसार जातजातिको संख्या १४२ र मातृभाषा संख्या १२४ कायम भएको छ।

‘जातजाति, भाषा तथा धर्मसँग सम्बन्धित यी तथ्याङ्क उत्तरदाताहरूले दिएका जवाफका आधारमा र विज्ञसमूहको सिफारिस अनुसार राष्ट्रिय जनगणना २०७८ मा जातजातिको संख्या १४२, मातृभाषा संख्या १२४ र धर्म संख्या १० कायम भएको छ,’ राष्ट्रिय तथ्याकं कार्यालयले विज्ञप्तिमार्फत भनेको छ ।

गत चैत १० गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनगणना, २०७८ को प्रतिवेदन सार्वजनिक गरेका थिए । जातजाति, भाषा र धर्म सम्बन्धमा भने विभिन्न व्यक्ति र संस्थाहरूबाट आएका करिब ७० वटा मागसहित ध्यानाकर्षण पत्र दर्ता भएको थियो ।

सोही विषयमा विज्ञ तथा संवैधानिक आयोगका सम्बन्धित कर्मचारीको परामर्श र छलफल समेत भएको थियो ।

‘२०६८ सालको जनगणनामा प्रकाशित भएका जातजाति र भाषाका अतिरिक्त २०७८ मा उल्लेख भई आएका थप नयाँ जातजाति र भाषाहरुको सन्दर्भमा त्यसलाई अन्तिम रुप दिन विज्ञहरूबाट प्रासंगिक कागजातहरू अध्ययन गरी वर्गीकरण गरिएको छ,’ विभागले भनेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार