सीटीइभीटीका कर्मचारी सवार जीप सुनकोशीमा खस्दा तीन जना बेपत्ता

ड्राइभर झ्यालबाट हाम फालेर बच्न सफल

मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–७ लौकुनबाट जीप सुनकोशी नदीमा खसेको छ । शुक्रबार मध्याह्न जीप नदीमा खस्दा जीपमा सवार तीन जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)का कर्मचारी सवार बा १ झ ७४६७ नम्बरको जीप काठमाडौँबाट खोटाङतर्फ जाँदै गर्दा नदीमा खसेको हो ।

जीपमा सीटीईभीटीका निर्देशकहरु कृष्ण केसी, यमप्रसाद भुर्तेल, प्राविधिक अधिकृत भानु पौडेल र ड्राइभर कृष्ण चौधरीसहित ४ जना जिपमा सवार थिए । ड्राइभर चौधरी झ्यालबाट हाम फालेर बच्न सफल भएको र अन्यको अवस्था अज्ञात रहेको प्रहरीले जानकारी दिएको छ । बेपत्ताहरुको खोजीका लागि जिल्लाबाट प्रहरी टोली पठाइएको उनले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार