नेपाल र भारतबीच ७ सम्झौतामा हस्ताक्षर

काठमाडौँ। नेपाल र भारतबीच सात वटा मुख्य सम्झौतामा हस्ताक्षर भएका छन् ।  प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको क्रममा बिहीबार द्वीपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो ।

तल्लो अरुण, फुकोट कर्णाली, पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर पेमेन्ट, दोधारा-चाँदनी सुख्खा बन्दरगाह निर्माण लगायतका समझदारीमा हस्ताक्षर भएको छ ।

बिहान भएको प्रतिनिधिमण्डलस्तरीय वार्तापछि पत्रकार सम्मेलन मार्फत् सहमति सार्वजनिक भएको हो । नेपालका प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पत्रकार सम्मेलन गर्दै सहमतिबारे जानकारी दिएका हुन् ।

तल्लो अरुण र फुकोट कर्णाली जलविद्युतको जिम्मा भारतलाई

तल्लो अरुण र फुकोट कर्णाली जलविद्युत निर्माणको जिम्मा भारतले पाएको छ । नेपालले तल्लो अरुण र फुकोट कर्णालीको जिम्मा भारतीय कम्पनीलाई दिने सम्झौता गरेको हो ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा बिहीबार उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा नेपालको तर्फबाट वाणिज्यमन्त्री रमेश रिजाल र भारतीय पक्षबाट वाणिज्यमन्त्री पियुष गोयलले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार गोखरपुर बुटवल ४०० केबी प्रसारण लाइन निर्माणका लागि विद्युत् प्राधिकरण र भारतको तर्फबाट पावर ग्रिडको लगानी हुनेछ । यसको लागत चार अर्ब ६२ करोड भारतीय रुपैयाँ हुनेछ ।  संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री माेदीले आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली भारतले किन्ने लक्ष्य  लिएकाे जानकारी दिए ।

रक्सौलको पाइपलाइन चितवनसम्म पुर्‍याउने, अब सिलगुडीदेखि झापासम्म पनि बनाउने

नेपालमा पेट्रोलियम पदार्थ आयातमा पाइप लाइन विस्तार गर्न भारत सहमत भएको छ । भारतीय प्रधानमन्त्री मोदीले नेपालमा पेट्रोलियम पदार्थको पाइपलाइन विस्तार गरिने जानकारी दिएका हुन् । रक्सौलदेखि अमलेखगञ्जसम्म रहेको पाइपलाइनलाई विस्तार गरेर चितवनसम्म पुर्‍याउने प्रधानमन्त्री मोदीको भनाइ छ । साथै सिलगुडीबाट झापासम्म पनि पेट्रोलियम पदार्थको पाइपलाइन बनाउने उनले जानकारी दिए ।

क्रसबोर्डर पेमेन्टका लागि सम्झौता

नेपाल र भारतबीच क्रसबोर्डर पेमेन्टका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ। नेसनल पेमेन्ट कर्पोरेशन इन्डिया र नेपाल क्लियरिङ हाउसबीच क्रसबोर्डर अनलाइन पेमेन्टको सम्झौता भएको हो। प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको क्रममा बिहीबार द्वीपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो । नेसनल पेमेन्ट कर्पोरेशन इन्डियाका तर्फबाट नितेश शुक्ला र नेपालको तर्फबाट नेपाल क्लियरिङ प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले सझमदारी पत्रमा हस्ताक्षर गरेका हुन्।

दोधारा-चाँदनी सुख्खा बन्दरगाह निर्माण

सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा सुख्खा बन्दरगाह निर्माण गर्न नेपाल र भारतबीच सहमति भएको छ । उक्त परियोजना निर्माणको जिम्मा भारतलाई दिइएको हो । उक्त सम्झौतामा नेपालका तर्फबाट वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले समझदारी पत्र साटासाट गरे । नेपालले वातावरणीय प्रभाव मूल्याङ्‍कन अध्ययन समेत सकिसकेको उक्त परियोजना कञ्चनपुरको दोधारा-चाँदनी क्षेत्रमा निर्माण हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार