दुई दिनदेखि बढेको गर्मीका कारण विराटनगर र सुनसरीमा विद्यालयहरू बन्द गरिएका छन् । सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाको सबै स्थानीय तहमा अत्यधिक गर्मी बढेका कारण जिल्लाका तीन स्थानीय तहको विद्यालयमा बिदा दिइएको हो ।
सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाले २०८० जेठ १८ गते बिहीबारदेखि २४ गते बुधबारसम्मका लागि बिदा दिएको नगर प्रमुख केदार भण्डारीले जानकारी दिए ।
गर्मीका कारण बालबालिकालाई सम्भावित विभिन्न समस्याबाट जोगाउनका लागि वर्षे बिदाबाट कट्टा हुनेगरी बिदा दिइएको उनले बताए ।
त्यसैगरी भोक्राहा नरसिंह गाउँपालिकाले समेत गर्मीका कारण विद्यालयमा बिदा दिएको गाउँपालिका प्रमुख अजमल अख्तर अजादले जानकारी दिए ।
उक्त गाउँपालिकाले समेत जेठ १८ गते देखि २३ गते मङगलबारसम्मका लागि विद्यालयमा बिदा दिएको उनले बताए । इटहरी उपमहानगरले समेत दुई दिनका लागि बिदा दिने निर्णय गरेको छ ।
प्रतिकूल मौसमका कारण अत्यधिक गर्मीले पठनपाठनमा असहज स्थिति आएको भन्दै जेठ १८ र १९ गते बिदा दिने निर्णय गरिएको इटहरी उपमहानगर शिक्षा महाशाखा प्रमुख सूर्यप्रसाद सुवेदीले जानकारी दिए ।
अहिले सञ्चालन भइरहेको परीक्षा सञ्चालनमा कुनै असर नपर्ने गरी बिहीबार र शुक्रबार विद्यालयको पठनपाठन बन्द गर्न उपमहानगरले सबै विद्यालयलाई आग्रह गरेको सुवेदीले बताए । केही दिनयता पूर्वी तराईमा अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ ।
त्यस्तै विराटनगर उपमहानगरपालिकाकाले गर्मीले स्वास्थ्यमा प्रतिकूल असर पर्ने सम्भावना बढेको भन्दै आज र भोलि महानगरपालिका क्षेत्रका सबै सार्वजनिक तथा संस्थागत विद्यालयमा बिदा दिएको छ । पूर्वनिर्धारित परीक्षा भने यथावत् रूपमा सञ्चालन हुने प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले बताए ।