निजी सवारीमा जोर-विजोर लागू, पसलहरू बारअनुसार खुल्ने

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपिएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकले उपत्यकामा असार १४ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको छ ।

अबको निषेधाज्ञा भने खुकुलो बनाइने भएको छ । यसपटक निजी सवारी साधन जोर नम्बर प्लेटको जोर बार र विजोर नम्बर प्लेटो विजोर बार चल्न दिने निर्णय गरेको काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीले जानकारी दिए । निजी गाडीमा यात्रा गर्दा बढीमा ४ जनालाई अनुमति दिइने छ भने मोटरसाइकलमा दुई जनाले यात्रा गर्न सक्नेछन् ।

यसैगरि पसलहरु पनि बार अनुसार खुल्न सक्ने निर्णय गरिएको उनले बताए । उनका अनुसार आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान बिक्री गर्ने पसल सञ्चालन हुनेछन् । त्यस्तै, अटोमोबाइल र त्यसका पार्टपूर्जा पाइने पसल पनि खुल्नेछ ।

सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल खोल्न दिने निर्णय भएको छ । यस्तै फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङ खुल्नेछन् ।

बारका आधारमा खुल्ने पसल बिहान ११ देखि ४ बजेसम्म खोल्न दिने निर्णय भएको प्रजिअ पराजुलीले बताए । खाद्यान्न, फलफूल र तरकारी पसल चाँहि हरेक दिन ११ बजेसम्म खुल्नेछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार