चारदिने भ्रमणका लागि प्रधानमन्त्री प्रचण्ड आज भारत जाँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चारदिने भ्रमणका लागि भारत जाँदैछन् । उनी दिउँसो १ बजे नेपाल एअरलाइन्सको उडानमार्फत भारत प्रस्थान गर्ने प्रधानमन्त्रीको प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए। प्रधानमन्त्री बनेपछि प्रचण्डको यो पहिलो अन्तर्राष्ट्रिय भ्रमण हो।

टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, अर्थ मन्त्री डा.प्रकाशशरण महत र उद्योगमन्त्री रमेश रिजाललगायत ४७ जनाको प्रतिनिधिमण्डल रहनेछ।

उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, उपराष्ट्रपति जगदीप धनकर र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गर्ने तालिका छ। मोदीसँग जेठ १८ गते वार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

उनीहरूबीच भारत र नेपालबीच द्विपक्षीय साझेदारी गर्न विभिन्न क्षेत्रमाथि छलफल हुनेछ। मन्त्रालयका अनुसार वार्तापछि उनीहरूले संयुक्त रूपमा पत्रकार सम्मेलन पनि गर्नेछन्।

त्यसपछि दुई प्रधानमन्त्रीले लन्च समेत गर्ने तालिका छ । यतिबेला भारतको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’को नक्सामा नेपाली भूमिका नाम राखिएको विषयमा पनि कुरा उठाउन भ्रमण टोलीलाई दबाब छ ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली जेठ यही जेठ २० गते स्वदेश फर्किने कार्यक्रम छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार