चर्च ब्वाइजको तीन खेलपछि जित, जावलाखेल दोस्रो स्थानमा उक्लियो

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको चर्च ब्वाइज युनाईटेडले तीन खेलपछि पहिलो जित निकाल्दा जावलाखेल युथ क्लबले बलियो विभागीय त्रिभुवन आर्मीलाई २–० ले पराजित गर्न सफल भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा चर्च ब्वाइजले एपीएफलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्‍यो । चर्च ब्वाइजको जितमा अनन्त तामाङले दुई गोल गर्दा मौसम सुब्बा र आशिष चौधरीले समान एक–एक गोल गरेका थिए । एपीएफका आवास लामिछानेले एक गोल फर्काए ।

खेलको तेस्रो मिनेटमा मौसमले गोल गर्दै चर्च ब्वाइजलाई सुरुआती अग्रता दिलाएका थिए । अनन्तले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै पहिलो हाफमानै चर्च ब्वाइजलाई २–० को अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा पनि चर्च ब्वाइजले निरन्तर गोल गर्‍यो । खेलको ५५ औँ मिनेटमा अनन्तले व्यक्तिगत दोस्रो गोल गर्दा टिमले ३–० को अग्रता बनाएको थियो । त्यस्तै खेलको ८३ औँ मिनेटमा आवासले गोल गर्दै एपीएफलाई ३–१ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको ८९ औँ मिनेटमा आशिषले गोल गर्दा चर्च ब्वाइजलाई ४–१ को जित दिलाए । चर्च ब्वाइजको यो ११ औं जित हो । चर्च ब्वाइजले २३ खेलमा ४१ अंक जोडेको छ। चर्च ब्वाइजले दोस्रो स्थानको जावलाखेल युथ क्लबविरुद्ध ४ अंकको अग्रता बनाउन सफल भयो। एपीएफको २३ खेलबाट २९ अंक रहेको छ । एपीएफ छैटौं स्थानमा रहेको छ ।

त्यस्तै, मंगलबार नै भएको खेलमा जावलाखेल युथ क्लबले त्रिभुवन आर्मी क्लबलाई २–० गोल अन्तरले हराउन सफल भयो । जावलाखेलको जितमा एनकोटो मासोबीले दुबै गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफमा जावलाखेलले अग्रता बनाएको थियो । खेलको ५५ औँ मिनेटमा मोसाबीले गोल गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ७८ औँ मिनेटमा मोसाबीले व्यक्तिगत दोस्रो गोल गर्दै जावलाखेललाई २–० को सहज जित दिलाए । जावलाखेलको जारी लिगमा यो दशौँ जित हो । जावलाखेलले २३ खेलमा ३७ अंक जोडेर दोस्रो स्थानमा उक्लियो । आर्मीको भने यो सातौं हार हो । आर्मी २३ खेलमा ३० अंक जोडे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार