सांसद विकास कोषबारे प्रधानमन्त्रीको लाचार जवाफ- ‘सबैतिरको दबाबले बाध्य भइयो’

विकृत सांसद विकास कोष पुनः ब्युँत्याइएको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लाचार जवाफ दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले कोषका लागि बजेटमार्फत् रकम छुट्याउनु आफ्नो योजना नभएर बाध्यता रहेको बताएका छन् । मंगलबार सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठकमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

यस क्रममा उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सन्तुलित रहेको बताएका थिए । माओवादीका सांसदहरूलाई बजेटको बचाउ गर्न पनि उनले निर्देशन दिएका थिए ।

‘सांसद विकास कोष हाम्रो योजना होइन तर बाध्यता भयो, तर यसलाई कार्यविधि बनाएर व्यवस्थित गरिन्छ,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै बैठकमा उपस्थित एक सांसदले बताए । यसका लागि सबैतिरबाट दबाब आएको प्रधानमन्त्रीको भनाइ थियो । तर दबाब कसले दिएको भनी किटान गरेका थिएनन् । तर यसलाई कार्यविधि बनाएर लैजाने उनको भनाइ थियो ।

सोमबार पेश भएको आगामी आर्थिक वर्षको बजेटमा अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधिसभाका सांसदलाई निर्वाचन क्षेत्रमा खर्च गर्न पाउने गरी पाँच/पाँच करोड विनियोजन गरेको घोषणा गरेका छन् ।

सांसद विकास कोष विकृत भएपछि तीन वर्षअघि हटाइएको थियो । त्यसको ठाउँमा निर्वाचन क्षेत्र रणनीतिक सडकको बनाउने योजना सरकारले ल्याएको थियो । तर आगामी वर्षको बजेटमा सांसदको तजबिजीमा खर्च गर्न पाउने गरी पाँच पाँच करोड दिइने भएको छ ।

सम्बन्धित समाचार