लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनद्धारा प्रदेशसभाको बैठक बहिष्कार

अल्पमतमा परेको सरकारले ल्याएको बजेटलाई सहयोग गर्न नसक्ने भन्दै लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनले प्रदेशसभाको बैठक बहिष्कार गरेको छ । आइतबार बसेको बैठक सुरु हुनसाथ काँग्रेसका संसदीय दलका नेता वीरेन्द्र कनौडियाले सरकार वैद्य कि अवैध पहिला छुटाउनुपर्ने बताए । उनले सरकार अल्पमतमा परेको भन्दै त्यस्तो सरकारले ल्याएको बजेट पास हुन नदिने जिकिर गरेका छन् ।

उनले प्रदेशको समृद्धिका लागि बजेट नआएको आरोप लगाए । मुख्यमन्त्रीले कार्यकर्ता पाल्ने गरी बजेट ल्याएको आरोप उनको छ । कनौडियाले सरकारले नै सङ्घीयतालाई अधिकारविहीन बनाएको भन्दै प्रदेश सरकारले पनि प्रदेश सांसदहरूलाई भूमिकाविहीन बनाए बजेट ल्याउनु दुखद भएको बताए । मनपरी बजेटको स्वामित्व आफूहरूले लिन नसक्ने र समर्थन पनि हुन नसक्ने भन्दै सहयोग गर्न नसक्ने उनले बताएका छन् ।

उनले बजेटमा त्रुटिभएका ठाउँमा सच्चाएमात्र सहयोग गर्न सक्ने स्पष्ट पारे । विपक्षी दलले बैठक बहिष्कार गरेपछि सभामुख पूर्ण बहादुर घर्तिले बैठक स्थगित गरे । लुम्बिनीमा विपक्षी गठबन्धनले मुख्यमन्त्री शङ्कर पोखरलको नियुक्तिको वैधानिकतामाथि निरन्तर प्रश्न उठाउँदै आएका छन् । उनीहरूले जेठ १९ गते प्रदेश प्रमुखबाट पोखरेल नियुक्त भएपनि विश्वासको मत लिनुपर्ने बताउँदै आएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार