भारत भ्रमणमा कार्यान्वयन हुने सम्झौता मात्र गरिने परराष्ट्रमन्त्री साउदको दाबी

परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणमा कार्यान्वयन हुने सम्झौता मात्र गरिने दाबी गरेका छन् ।

प्रधानमन्त्रीको भारत भ्रमण यही जेठ १७ (भोलि) बाट जेठ २० गतेसम्म हुँदैछ । भ्रमणको बारेमा जानकारी दिँदै उनले सरकारले भारतसँग गरेका सम्झौताको पूर्ण कार्यान्वयन नहुने गरेको भन्दै यस भ्रमणमा भने पूर्ण कार्यान्वयन हुनेगरी सम्झौता हुने बताए ।

‘कमिटमेन्ट आउने, कार्यान्वयनको पक्ष कमजोर हुने, कुनै न कुनै रूपमा दुवै पक्षबाट यस्तो भइरहेको अनुभव छ,’ उनले भने, ‘यस भ्रमणमा जुन एजेण्डा हामी अगाडि बढाउँदैछौँ, ती एजेण्डाको कार्यान्वयन हुनेछ।’ प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने उनको भनाइ थियो ।

परराष्ट्रमन्त्री साउदले भने, ‘नेपाल र भारतबीचमा घनिष्ठ मैत्रीपूर्ण सम्बन्ध रही आएको छ । यो भ्रमणमा हामीले दुई देशबीचको सम्बन्धलाई ज्यादा प्रगाढ बनाउने कोशिस गर्नेछौँ र दुई देशबीचको समझदारीलाई पनि अझ बढाउँदै लैजाने हाम्रो प्रयत्न रहनेछ । हामीले यो भ्रमणमा ट्रेड, ट्रान्जिट,कनेक्टिभिटी, इन्फास्ट्रक्चर डेभलपमेण्ट, फाइनान्सियल कोप्रेशन, जस्ता मुद्दाहरुलाई अगाडि बढाउनेछौँ । यसको बारेमा दुई देशका बीचमा, दुई देशको सरकारका बीचमा वार्ताबाट केही ठोस निस्कर्षमा पुग्ने तयारी भइरहेको छ, यसमै दुईवटै देशका अधिकारीहरू क्रियाशील रही आएका छन् ।’

उनले सरकारले भारतसँग गरेका सम्झौताहरुको पूर्ण कार्यान्वयन नहुने गरेको भन्दै यस भ्रमणमा भने सम्झौता गरेका कुराहरूको पूर्ण कार्यान्वयन हुने ग्यारेन्टी गरे ।

मन्त्री साउदले प्रधानमन्त्रीको भारत भ्रमणमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा चलायमान बनाउन भारतसँगका केही असमझदमारीलाई हटाउने बारेमा पनि छलफल हुने बताए ।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा परराष्ट्रमन्त्री साउद, अर्थमन्त्री डा. प्रकाशशरण महत, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल जाने भएका छन् ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखड र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने कार्यक्रम छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार