अनुहारमा ढुसी लागेको अवस्थामा डडेल्धुरामा युवतीको शव भेटियो

डडेल्धुरामा ढुसी परेको अवस्थामा एक युवतीको शव भेटिएको छ । परशुराम नगरपालिका वडा नम्बर ८ की करिब २७ वर्षकी अस्मितादेवी धामीको शनिबार शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र चन्दले जानकारी दिए ।

यही असार २ गते स्वास्थ्य सामग्री पुर्‍याउन जोगबुढा अस्पताल जाने क्रममा बेपत्ता भएकी धामीको शनिबार स्थानीय हट्वानी सामुदायिक वनमा शव फेला परेको थियो । स्वास्थ्य चौकीबाट अस्पताल पुग्न हट्यानी सामुदायिक वनको बाटो हुँदै जानुपर्ने प्रहरीले बताएको छ ।

‘उहाँ खोप लगाएर सकिएको बट्टाहरू लिएर अस्पताल जाँदै हुनुहुन्थ्यो । हामीले खोपका बट्टाहरू पनि फेला पारेका छौं,’ प्रहरी निरीक्षक चन्दले भने ।

बुधबार अस्पताल गएकी धामी सम्पर्कबिहीन थिइन् । सम्पर्कबिहीन भएपछि गत शुक्रबार प्रहरीलाई खोजी गरिदिन भनेर परिवारले उजुरी गरेका थिए । खोज्ने क्रममा शनिबार उनको शव फेला परेको हो ।

सो घटनाको अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालयले धनगढीबाट प्रहरीका दुई वटा टोली परिचालन गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्र थापाले घटनाको अनुसन्धानका लागि संघीय प्रहरी इकाइ कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीको नेतृत्वमा टोली खटाइएको जानकारी दिए ।

उनका अनुसार सोही घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआईटी) को टोली पनि खटाइएको छ । आरआईटीका नायब निरीक्षक पदम थापाको कमाण्डमा टोली परिचालन गरिएको उनले जानकारी दिए । दुवै टोली आइतबार बिहानमात्र धनगढीबाट डडेल्धुरातर्फ हिँडेका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार