सरकारले विद्युतीय गाडीमा कर फेरबदल गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले विद्युतीय गाडीमा करको दर बढाएर लक्जरी सेग्मेन्ट घटाएका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले ईभीको करमा फेरवदल गर्दै नयाँ करका दर निर्धारण गरेका हुन् ।
अर्थमन्त्री महतले ५० देखि १०० किलोवाटसम्मको विद्युतीय गाडीमा भन्सार ५ प्रतिशत र १० प्रतिशत अन्त शुल्क बढाएका छन् भने सय किलोवाटदेखि २ सय किलोवाटको विद्युतीय गाडीको भन्सार र अन्त शुल्क १०–१० प्रतिशत घटाएका छन् ।
५० देखि सय किलोवाटसम्ममा वीवाइडीको एटो–३, नेक्सन, हुण्डाईको कोना, एमजी जेडएस इभी, नेटा भी पर्छन् भने सय किलोवाटदेखि २ सय किलोवाटसम्ममा टेस्ला र आयोनिक–५ पर्छन ।
५० देखि सय किलोवाटसम्मका गाडी नेपालमा ३५ लाखदेखि ६५ लाख रुपैयाँमा बिक्री भइरहेको छ भने आयोनिक १ करोड १७ लाख र टेस्ला १ करोड ७५ लाख रुपैयाँमा बिक्री भइरहेको छ ।
गाडीमा भन्सार र अन्त–शुल्क थपिँदा ५० देखि सय किलोवाटसम्मका गाडीको ७ लाखदेखि ९ लाख रुपैयाँसम्म मूल्य बढ्नेछ ।
यस्तै २ सयदेखि ३ सयकिलोवाटसम्मको गाडीमा ५ प्रतिशत मात्रै भन्सार घटाइएको छ। चालु आर्थिक वर्षमा सरकारले १०० किलोवाट भन्दा माथिको इभीमा कर बढाउन विद्युतीय गाडीको मूल्य २० लाखदेखि ७५ लाख रुपैयाँसम्मले बढेको थियो। त्यसरी मूल्य बढ्ने भएपछि सबै इभी बिक्रेताहरुले १०० किलोवाट क्षमतासम्मका इभीहरु मात्र नेपाल भित्र्याएका थिए।