विद्युत उत्पादन ३६०० मेगावाट पुर्‍याउने सरकारको घोषणा

प्रतिव्यक्ति विद्युत खपत प्रतिघन्टा ४५० किलोवाट पुर्‍याइने

आगामी आर्थिक वर्षमा विद्युत उत्पादन जडित क्षमता बढेर ३ हजार ६ सय मेगावाट पुग्ने भएको छ । आगामी वर्ष प्रणालीमा ९ सय मेगावाट थप गरेर सो लक्ष्य पुरा गर्न योजना सरकारले सार्वजनिक गरेको हो ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसदको संयुक्त बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गर्दै सो जानकारी गराएका हुन् ।

आगामी वर्ष चिलिमे हाइड्रोपावर लिमिटेडले बनाइरहेको १ सय ११ मेगावाटको रसुवागढी, १ सय २ मेगावाटको मध्यभोटेकोसी र ५७ मेगावाटको सान्जेनलगायत निजी लगानीमा निर्माणधिन आयोजना सम्पन्न गरी सो लक्ष्य पुरा गर्ने लक्ष्य सरकारको छ ।

आगामी आर्थिक वर्षमा वार्षिक विद्युत खपत बढाएर ४ सय ५० युनिट पुर्याउने लक्ष्य सरकारले लिएको छ । आगामी दुई वर्षभित्र सतप्रतिशत जनसंख्यामा विद्युत पहुँच पुर्‍याउने गरी राष्ट्रिय प्रसारण लाइनमा नपुगेका दुर्गम क्षेत्रका घरधुरीमा लघु तथा साना जलविद्युत र सौर्य तथा वायुजस्ता नवीकरणीय उर्जाको विस्तार गरिने पनि सरकारले घोषणा गरेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार