ढुंगागिट्टी निर्यात गर्ने सरकारको तयारी

सरकारले ढुंगागिट्टी निकासी गर्ने तयारी गरेको छ । आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री प्रकाशशरण महतले वातावरणलाई नकारात्मक असर नपर्ने गरी मापदण्ड बनाएर नदीजन्य पदार्थ निकासीका लागि आधार तयार गर्ने बताएका छन् ।

‘वातावरणलाई असर नपर्ने गरी मापदण्ड बनाएर वातावरणीय अध्ययनबाट उपयुक्त स्थान देखिएको क्षेत्रबाट ढुंगा र गिट्टी निकासी गर्न आधार तयार गरिने छ,’ मन्त्री महतले भने ।

ढुंगा र गिट्टी निर्यातको कुरा बहसमा आएपनि कार्यान्वयन हुन नसक्दा नेपालले विदेशी मुद्रा भित्र्याउने अवसरको प्रयोग गर्न नसकेको सरकारको बुझाइ छ ।

यसअघि तत्कालीन केपी ओली नेतृत्वको सरकारले चुरेबाट नदीजन्य पदार्थ निकासी गर्ने बताएपछि चौतर्फी विरोध भएसँगै निर्णय सच्चाइएको थियो ।

२०७८ सालमा ओली सरकारले ल्याएको उक्त नीतिको विरोध गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले ‘नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गर्ने’ सरकारको नीति राष्ट्र र जनविरोधी निर्णय भएको बताएका थिए । ओलीले ल्याएको उक्त नीति कुर्सी बचाउने र तराईलाई मरुभूमिकरण गर्ने योजनाको हिस्सा भएको दाहालले बताएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार