महाकाली नदीमा बाढी: निर्माणाधीन पुलको बाँध बगायो, १५ घर डुबानमा

महाकाली नदीमा आएको बाढीले कञ्चनपुरमा निर्माणाधीन अवस्थामा रहेको चार लेनको पक्की पुलको संरचना भत्काउन थालेको छ ।

भीमदत्त नगरपालिका-१२ ओदालीस्थित महाकाली नदीमा निर्माण भइरहेको पक्की पुलको करीब ९० मिटर अस्थायी बाँध शनिबार राति आएको बाढीले बगाएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले शुक्रबारदेखि नै ड्याम काटिरहेको नदीले राति बहाव बढेपछि ९० मिटर क्षेत्रको बाँध बगाएको जानकारी दिए ।

तीन अर्ब ६७ करोडको लागतमा निर्माणाधीन पुलको पहुँचमार्ग भत्काउनुका साथै बाढीले दोधारा चादँनीसित जोड्ने अस्थायी बाटोसमेत अवरुद्ध गराएको छ ।

त्यसैगरी पुलअन्तर्गत महाकालीमा निर्माण गरिएको टापु (आइल्याण्ड)समेत बगाएको पुल निर्माण कम्पनीले जनाएको छ । कुमार–सिएसइसी जेभीका इञ्जीनियर किशोरराज पाण्डेयले पुल संरचनामा बाढीले क्षति पुग्दा करोडौँ रकम बराबरको नोक्सान भएको बताए । “गत जेठमा पनि बाढी आउँदा रु तीन करोडभन्दा बढीको क्षति भएको थियो”, उनले भने, “त्यसबेला कालोपत्र गर्न स्थापना गरिएको प्लान्ट नै बगाएको थियो ।”

तटीय क्षेत्र नजिकै पर्ने दोधारा चाँदनी नगरपालिका-१० को कुतियाकबर, शान्ति टोल र बैदीफाँटाका १५ वटा घरमा नदीको पानी पसेको छ । राति २ः४५ बजे नदीको पानीले बस्ती डुबानमा पारेपछि स्थानीय बासिन्दालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ । प्रहरी नायब उपरीक्षक थापाका अनुसार घरभित्र पानी पसे पनि मानवीय तथा भौतिक क्षति भएको छैन । विस्थापित भएकाहरु आफन्त घरमा बसेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार