युनाइटेड अजोड इन्स्योरेन्सको एकीकृत कारोबार सुरु

अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्स कम्पनी मर्ज भई युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार आजबाट औपचारिक रुपमा सुरु भएको छ। दुई कम्पनीबीच मर्जर प्रक्रिया सम्पन्न गरेर युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार शुभारम्भ भएको हो ।नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार औपचारिक रुपमा शुभारम्भ गरेका छन् । उनले नयाँ कम्पनीको प्रमाणपत्र समेत हस्तान्तरण गरेका थिए ।

अजोड र युनाइेटडबीच गत २७ पुसमा मर्जर सहमति भएको थियो। गत १६ चैतमा मर्जरसम्बन्धी अन्तिम सम्झौता भएको थियो। त्यसपछि आवश्यक मर्जर प्रक्रिया सम्पन्न गरेर दुई कम्पनीले एकीकृत कारोबार सुरु गरेका छन् । यी दुई कम्पनी १००ः८२:५ स्वाप रेसियोमा मर्ज भएका हुन्  । यस स्वाप रेसियो अनुसार अजोड इन्स्योरेन्स कम्पनीको १०० कित्ता शेयर हुनेको मर्जर पश्चात ८२.५ कित्ता हुनेछ । युनाइटेडका शेयरधनीको कित्तामा कुनै फेरबदर हुने छैन ।

युनाइटेड र अजोड एक आपसमा गाभिएपछि बन्ने कम्पनीको चुक्ता पुँजी २ अर्ब ७ करोड ९५ लाख रुपैयाँ पुग्नेछ । हाल युनाईटेडको चुक्ता पुँजी १ अर्ब ७ करोड ९५ लाख रुपैयाँ र अजोडको १ अर्ब रुपैयाँ रहेको छ । मर्जपछि बन्ने नयाँ कम्पनीको अध्यक्षमा भने अजोड इन्स्योरेन्सको तर्फबाट हुने सहमति भएको छ ।  अध्यक्षमा अजोडका अध्यक्ष अजद श्रेष्ठ बन्ने छन् । उनी अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुन् ।नयाँ कम्पनीको प्रमुख कार्यकारी अधिकृत भने श्रवण रावल बन्ने भएका छन् । रावल साविकको प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत थिए ।  त्यस्तै, युनाइटेड अजोडको सिनियर डीसीईओ कुमार बहादुर खत्री हुनेछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार