नपत्याउने खोलाले मनाङको सिंगो बस्ती नै बगायो

‘नपत्याउने खोलाले बगाउँछ’ भन्ने उखानै छ । हो, हिमालपारिको जिल्ला मनाङका बासिन्दाले मर्स्याङ्दी र आसपासका खहरेमा यस्तो बाढी आउला र घरबारै बगाउला भनेर कहिल्यै सोचेका थिएनन् । सधैंजसो काठे र झोलुंगे पुलबाट वारपार गरिरहेका उनीहरूलाई खोलाले बगाउला भन्ने त पत्यारै थिएन । किनकि अहिलेसम्म यो आकारको बाढीको सामना कहिल्यै गर्नुपरेको थिएन ।

तर उखानले भनेझै यसपटक नपत्याउने खोलाले सिंगो बस्ती नै बगायो । संयोगवश बाढीले मानवीय क्षति नगरे पनि ठूलो आकारमा भौतिक नोक्सानी पु-याएको छ । बाढीले तटीय क्षेत्रका धेरै बासिन्दाको उठीबास लगाइदिएको छ । भौतिक क्षति कति भयो भन्ने अहिलेसम्म यकिन छैन । बाढीको कहर अझै कम भइसकेको छैन ।

चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घले भन्छन्, ‘हिमाली जिल्लामा यस्तो भीषण बाढी आउला भन्ने हामीलाई पत्यारै थिएन । तर नसोचेको अवस्था आयो । बाढीले सिंगो जिल्लालाई नै थिलथिलो पारेको छ।’ उनका अनुसार मर्स्याङ्दी सहजै तर्न सकिने खोला हो । कतिपय ठाउँमा झोलुंगे त कतैकतै काठे पुलबाट वारपार गर्ने चलन थियो । तर अहिले भने बाढीले सबैतिर ध्वस्त बनाएको उनले बताए ।

‘हामीले आजसम्म यो अवस्था भोग्नुपरेको थिएन, अग्रजले पनि यस्तो संकट बेहोर्नुपरेको थिएन,’ घलेले भने, ‘योपटक भने नपत्याएको खोलाले बगाएको छ । चामेमा मात्र ५ सयजना मान्छे घरविहीन भइसकेका छन् । खोला किनारका बस्तीबारे सोच्ने बेला भएको छ ।’ यो समाचार आजको नागरिक दैनिकमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार