ढोरपाटनका मेयर देवकुमार एमाले गण्डकीको सदस्यबाट निलम्बित

नेकपा एमाले गण्डकीले ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई प्रदेश सदस्यबाट निलम्बन गरेको छ ।

इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहेका देवकुमारले बचतकर्ताको रकम हिनामिना गरेको पुष्टि भएपछि एमालेले सो निर्णय गरेको हो । उनी गएको निर्वाचनमा एमालेकै टिकटबाट मेयरमा निर्वाचित भएका थिए ।

एमाले गण्डकीका सचिव धनञ्जय दवाडीका अनुसार पार्टीको मंगलबारको बैठकले घटनाको निरुपण नहुँदासम्मको लागि उनलाई प्रदेश कमिटीको सदस्यबाट निलम्बन गरेको हो ।

एमाले गण्डकीद्वारा जारी विज्ञप्तिमा बचतकर्ताहरुले जिल्ला प्रशासन कार्यालय बागलुङमा उजुरी दिएको र संस्थाका पदाधिकारीहरुलाई यात्रा अनुमति रद्द गर्न भनी गृह मन्त्रालयले निर्देशन जारी गरेको तथ्यसमेत जगजाहेर रहेको उल्लेख गर्दै सरकारी निकायबाट सुरु गरिएको छानबिन प्रक्रियामा सघाउन सबैसँग आग्रह पनि गरिएको छ ।

विज्ञप्तिमा घटनामा आरोपित सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपाली र अन्य सबै सञ्चालकहरुलाई बचतकर्ताको सम्पूर्ण रकम शिघ्र फिर्ता गर्न आग्रह पनि गरिएको छ ।

देवकुमार गएको शुक्रबारदेखि सम्पर्कविहीन छन् । उनीमाथि सर्वसाधारणबाट संकलित करोडौं रुपैयाँ हिनामिना गरेको आरोप छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार