माछापुच्छ्रे बैंकले भन्यो– ग्राहकको पैसा मोबाइल बैंकिङबाटै हरायो

कारोबार गर्दा सचेत हुन आग्रह

माछापुच्छ्रे बैंकले रौतहटस्थित चन्द्रपुर शाखाका ग्राहकको पैसा उनकै मोबाइल बैकिङबाट हराएको बताएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै बैंकले बैंकको सिस्टममा कुनै समस्या नदेखिएको बताएको हो ।

ग्राहकको पैसा स्वयम् उनकै मोबाइल बैंकिङ एपमार्फत विभिन्न बैंक तथा खल्ती एपमा ट्रान्सफर गरिएको देखिएको बैंकले जनाएको छ ।

‘ग्राहकको गुनासो प्राप्त भएपछि बैंकले अनुसन्धान गर्दा सम्पूर्ण रकम ग्राहकको मोबाइल बैंकिङ प्रयोग गरी अन्य बैंकका विभिन्न खाताहरू तथा खल्ती वालेटमा ट्रान्सफर गरिएको देखिएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘बैंकको सिस्टममा कुनै समस्या नदेखिएको र बैंकबाट पठाइएका सम्पूर्ण एसएमएस, एक्टिभेसन कोड तथा ओटीपी ग्राहककै मोबाइलमा गएको देखिएको हुनाले उक्त कोड अनाधिकृत व्यक्तिलाई जानकारी नगराई वा ग्राहकको मोबाइलमा अनाधिकृत पहुँच नपुऱ्याई उक्त कारोबार हुन नसक्ने देखिन्छ।’

बैंकले यसबारे थप अनुसन्धान गरी आवश्यक कारबाही गर्न प्रहरीमा अनुरोधसमेत गरिसकेको जानकारी दिएको छ ।

बैंकले ग्राहकहरूको खातामा रहेको पैसा सुरक्षित रहेको पनि बताएको छ । डिजिटल बैंकिङ कारोबार गर्दा ग्राहकले सावधानी अपनाउन पर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार