मकवानपुरमा बसको ठक्करबाट ६० वर्षीया वृद्धाको मृत्यु

हेटौँडामा यात्रुबाहक बसले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु भएको छ ।

बुधबार बिहान मकवानपुरको मनहरि गाउँपालिका–६ नयाँ बस्तीस्थित पूर्व–पश्चिम सडक खण्डमा गौरबाट काठमाडौँतर्फ जाँदै गरेको ना ५ ख १७४० नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा मनहरि–७ का ६० वर्षीया मनमाया स्याक्तानको मृत्यु भएको मकवानपुर प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

बसको ठक्करबाट गम्भीर घाइते भएकी स्याक्तानलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो । प्रहरी नायब उपरीक्षक कार्कीका अनुसार अस्पताल आइपुग्नासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

बस चालक इलाका प्रहरी कार्यालय खैरहनी चितवनको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार