बागलुङमा कोरोना सङ्क्रमणबाट थप एकको मृत्यु, मृतकको संख्या ५० पुग्यो

बडिगाड गाउँपालिका–६ की कोरोना भाइरस सङ्क्रमित २६ वर्षीया महिलाको गएराति उपचारका क्रममा धौलागिरि अस्पतालमा मृत्यु भएको छ ।

एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएपछि उनलाई शुक्रबार मात्रै अस्पताल भर्ना गरिएको थियो । अस्पताल आउँदा नै महिलाको अवस्था गम्भीर बनेको र चिकित्सकले हरसम्भव प्रयास गर्दा पनि बचाउन नसकेको स्वास्थ्य कार्यालयका कोभिड–१९ स्रोत व्यक्ति देवप्रकाश घिमिरेले बताए । योसँगै जिल्लामा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ५० पुगेको उनको भनाइ छ ।

कोरोना महामारीको पहिलो लहरमा जम्मा ११ जनाको मृत्यु भएकामा गत वैशाखयता शुरु भएको दोस्रो लहरमा ३९ जनाले ज्यान गुमाएका हुन् । जिल्लामा पहिलोपटक विसं २०७६ चैत १५ मा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । त्यसयता चार हजारबढीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भइसकेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय ५० रहेको स्रोत व्यक्ति घिमिरेले जानकारी दिए । पछिल्लो समय सङ्क्रमणको दरमा केही कमी आएको छ भने अस्पतालमा पनि सङ्क्रमितको संख्या घट्दै गएको छ ।

सङ्क्रमण घटेपनि जनस्वास्थ्यका मापदण्ड पालनामा लापरबाही नगर्न चिकित्सकले सुझाउँदै आएका छन् । कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि गत वैशाख २१ गतेदेखि जिल्लामा निषेधाज्ञा जारी छ ।

Loading...