रसुवागढी नाका जोड्ने सडक पहिरोले बन्द, खुलाउने प्रयास

चीन सँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक पहिरोका कारण अवरुद्द बनेको छ । पासाङ ल्हामु मार्गको धुन्चेदेखि स्याफ्रुबेसी तथा रसुवागढीसम्म आधा दर्जन स्थानमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

धुन्चे–स्याफ्रु सडकखण्ड अन्तर्गत अवरुद्द सडक हिजो साँझ यातायात सञ्चालनमा ल्याई सकिएको छ भने त्रिशूली खोला र लिङलिङ चिलिमे जलविद्युत् आयोजना नजिक पहिरो खसेको ठाँउमा आज बिहानैबाट पहिरो पन्छाउने काम सुरु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्याफ्रु–रसुवागढी सडकखण्डको लिङलिङमा झरेको पहिरोमा ठुला चटान भएकाले पन्छाउने काम जारी भए पनि अझै सकिएको छैन । यसैगरि कतिपय स्थानहरुमा भोटे कोशीको कटानका कारण सडकको जग नै बगाएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डे बताए ।

अवरुद्द सडक खुलाउने प्रयास जारी रहेकाले आज साँझसम्ममा यातायात सञ्चालन हुने बताइएको छ । सडक अवरुद्द हुँदा भन्सार जाँचपास भएका मालबाहक कन्टेनर रोकिएर बसेका छन् ।

यसैबीच चार दिनदेखि सो क्षेत्रमा विद्युत्, टेलिफोन र इन्टरनेट नहुँदा रसुवा भन्सारको काम प्रभावित भएकोमा हिजो साँझ विद्युत्, टेलिफोन र इन्टरनेट सेवा सञ्चालनमा आएको स्थानियले बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार