बैंक अफ काठमाण्डूको एकल लगानीमा अप्पर इङ्गवा जलविद्युत आयोजना बन्ने

बैंक अफ काठमाण्डू लिमिटेड र इङ्गवा जलविद्युत लिमिटेडले निर्माण थालेको अप्पर इङ्गवा जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । बैंक र विकासकर्ता कम्पनीबीच ९.७ मेगावाटको सो आयोजनामा कर्जा प्रवाह गर्ने सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

आयोजनाको अनुमानित लागत १ अर्ब ९५ करोड रुपैयाँ रहेको छ । इङ्गवा जलविद्युत लिमिटेडले ताप्लेजुङ र पाँचथर जिल्लाको याङबाराक र सिदिङबा गाउँपालिकामा उक्त जलविद्युत आयोजनाको निर्माण कार्य गरिरहेको छ । आयोजनामा बैंक अफ काठमाण्डू लिमिटेडको एकल लगानी रहनेछ ।

आयोजनामा कुल लागतको ७५ प्रतिशत बैंक कर्जा वापतको लगानी रहनेछ भने बाँकी २५ प्रतिशत इङ्गवा जलविद्युत लिमिटेडको स्वपुँजी लगानी रहने बैंकले जनाएको छ । आयोजना पुरा भएपछि उत्पादित विद्युत अमरपुर सवस्टेसनमा जोडिनेछ ।

सबस्टेसनसम्मको आवश्यक १६ किलोमिटर लामो ३३ केभी प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ । कर्जा लगानी पश्चात् जलविद्युत आयोजना निर्माणमा सहयोग पुग्ने र समयसिमामा नै आयोजनाको निर्माण कार्य सम्पन्न हुने विश्वास बैंकले लिएको छ ।

हालसम्म बैंक अफ काठमाण्डूले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

बैंक अफ काठमाण्डू  नेपालको उर्जा क्षेत्रहरु (सौर्य तथा जलविद्युत) को विकासको लागि बैंकिङ्ग क्षेत्रबाट लगानी गर्ने पहिलो बैंक रहेको छ । बैंकले विभिन्न ३७ वटा आयोजनामा ऋण लगानी गरिसकेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार