कर्णालीका तीन मन्त्रीलाई सरकार छाड्न एमालेको निर्देशन

एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकारमा रहेका तीनजना मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन दिएको छ । वैशाख ४ गते सांसदबाट पदमुक्त भएपछि सरकारमा सहभागी भएका उनीहरुलाई सर्वोच्च अदालतले अन्तरिम आदेशबाट पुनर्वहाली गरेपछि शुक्रबार संसदीय दलले सरकारमा फिर्ता हुन निर्देश गरेको हो ।

शुक्रबार बसेको बैठकले सरकारमा सहभागी एमाले सांसद अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई फिर्ता बोलाउने निर्णय गरेको प्रमुख सचेतक गुलावजंग शाहले जानकारी दिए ।

गत वैशाख ३ गते यी ३ मन्त्रीसहित सांसद प्रकाश ज्वालाले फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । त्यसपछि शाहीले थापा, शाही र बुढालाई मन्त्री नियुक्त गरेका थिए ।

नेकपा एमालेले कारबाही गरेपछि पदमुक्त भएका उनीहरु सर्वोच्च अदालतको आदेशमा पुनर्वहाली भएका थिए । पुनर्बहाली भएपछि उनीहरुले फेरि एमाले संसदीय दलको निर्देशन मान्नुपर्ने शाहले बताए । ‘हिजो कारबाहीमा परी सांसदबाट पदमुक्त भएको अवस्थामा सरकारमा सहभागी हुनुलाई सामान्य मान्न सकिएला, तर अहिले उहाँहरुसँग सरकारमा सहभागी हुने वैधानिक आधार छैन,’ उनले भने, ‘त्यसैले दलको बैठकले तत्काल सरकारबाट फिर्ता आउन निर्देशन दिएको छ ।’

सर्वोच्चले जेठ २७ गते पुनर्वहालीको आदेश गरेपछि एमाले संसदीय दलले मंगलबार र शुक्रबार भएका दुईवटा बैठकमा सहभागी हुन आमन्त्रण गरेको थियो । तीनजना मन्त्री दुईवटै बैठकमा सहभागी भएका छैनन् । उनीहरुसँगै मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिई कारबाही भोगेका नेता प्रकाश ज्वाला भने बैठकमा सहभागी भइरहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार