जाजरकोटको पाटनमा बेपत्ता सातै जना सकुशल भेटिए

जाजरकोटको कुशे गाँउपालिकाको जलजला पाटन क्षेत्रमा हराइरहेका सातै जना सकुशल भेटिएका छन् । हावाहुरीका कारण ४ दिनदेखि पाटनमा हराइरहेका कुशे गाउँपालिका ८ र ९ का ७ जनालाई प्रहरीले उद्धार गरेको हो ।

घरपालुवा गाई, भैंसी, बाख्रा, भेडा लगायतका पशु चौपाया लिएर पाटन पुगेका कुशे गाँउपालिका-(८ औलरिजा र वडा नम्बर ९ पैकका ११ जना मध्ये सात जना गत जेठ ३१ गतेदेखि सम्पर्कविहिन भएका थिए ।

बेपत्ताको खोजी गर्नको लागि प्रहरी निरीक्षक शिवकुमार क्षेत्रीसहित ७ जनाको प्रहरी टोली २ दिन पैदल हिँडेर जलजला पाटन पुगेको थियो । शुक्रबार बिहान मौसम खुलेपछि प्रहरी टोली जलजला पाटनमा पुगेर बेपत्तालाई फेला पारेको जाजरकोटका प्रहरी प्रमुख डीएसपी मधुकुमार थापाले बताए । गोठालाहरू पाटनमा रहेको रित्तो भेडीगोठमा अर्धचेत अवस्थामा भेटिएको डीएसपी थापाले बताए । चिसो र ४ दिनदेखि भोकै रहेका कारण उनीहरूको स्वास्थ्यमा समस्या देखिएकाले प्राथमिक उपचार सुरु गरिएको उनले बताए । उनीहरुलाई चाउचाउ, बिस्कुट लगायतका खानेकुरा खुवाएर पाटनबाट झारिएको थियो ।

कुशे गाँउपालिका- ८ औलरिजाका डिलबहादुर खड्का, विक्रम खड्का, चन्द्रा खड्का, भविन्द्र खड्का, भीमबहादुर खड्का,धनसरा खड्का र सोही गाँउपालिका वडा नम्बर ९ का कृष्ण रोकाय सकुशल फेला परेका हुन् । हराइरहेका २२ गाई, ५० बाख्रा र १० भैंसी भने अझै फेला पर्न सकेका छैनन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार