एमालेका सांसदलाई मुख्यमन्त्री राईको निर्देशन : सात दिनभित्र अविश्वास प्रस्ताव फिर्ता लिनु

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रदेश १ संसदीय दलका नेता एवं मुख्यमन्त्री शेरधन राईले एक साताभित्र अविश्वास प्रस्ताव फिर्ता लिन सांसदहरूलाई निर्देशन दिएका छन् ।

बुधबार बिहान बसेको संसदीय दलको बैठकमा राईले अविश्वास प्रस्तावमा गरिएको हस्ताक्षर फिर्ता नलिए विधान अनुसार कारबाही थालिने जानकारी गराएका छन् । सर्वोच्च अदालतले एमाले र माओवादीलाई अलग बनाइदिएपछि पहिलोपटक भएको दलको बैठकले यस्तो निर्देशन दिँदै संसदीय दलको विधान पारित गरेको छ । एमाले संसदीय दलको बुधबार बसेको बैठकमा नेपाल समूहका प्रदेशसभा सदस्यहरु पनि सहभागी भएका थिए ।

बैठकमा पुगेका २ जना माधव नेपाल समूहका सांसदहरूले केही दिनमै हस्ताक्षर फिर्ता गर्ने जानकारी गराएको बताइएको छ । बैठकमा सांसदहरु तुलसी न्यौपाने, लीलाबल्लभ अधिकारी लगायतका नेताहरुले अविश्वास प्रस्ताव फिर्ता हुनसक्ने बताएका थिए ।

मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमा तत्कालीन प्रचण्ड(माधव पक्षका ३७ सांसदले हस्ताक्षर गरेका थिए । तीमध्ये ५ जनाले हस्ताक्षर फिर्ता लिइसकेका छन् । प्रदेश १ सभामा सभामुखसहित एमालेका ५१ सांसद छन् । तीमध्ये २० जना माधव नेपाल पक्षका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार