यस्ता छन्, मन्त्रिपरिषद्का महत्वपूर्ण निर्णयहरु

काठमाडौँ : सरकारले वैशाख २४ गते संसद्को बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।

बुधवार बसेको मन्त्रिपरिषद् बैठकले संसद्को बजेट अधिवेशन वैशाख २४ गते बोलाउने निर्णय गरेको हो। मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले वैशाख २४ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरिएको जानकारी दिइन्।

उनले भनिन्‚ ‘आगामी २४ गतेको लागि संसद् बैठक आह्वानका निम्ति राष्ट्रपतिकोमा सिफारिस गर्ने भन्ने पनि निर्णय भएको छ।’​

त्यसैगरी सरकारले एसीसी क्रिकेट प्रतियोगितामा विजयी नेपाली क्रिकेट खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ६ लाख रुपैयाँ र अन्य टिम अफिसियललाई जनही ३ लाख रुपैयाँका दरले रकम उपलब्ध गराएर प्रोत्साहन गर्ने निर्णय पनि गरेको छ।

त्यस्तै कीर्तिपुरको क्रिकेट मैदानलाई अन्तरराष्ट्रियस्तरको बनाउन आगामी आर्थिक वर्षको बजेट विनियोजनमा विशेष प्राथमिकतामा राख्ने भन्ने निर्णय पनि गरिएको उनले जानकारी दिइन्।

मन्त्रिपरिषद् बैठकको निर्णयबारे जानकारी दिँदै मन्त्री शर्माले भनिन्‚ ‘एसीसी क्रिकेट प्रतियोगितामा विजयी नेपाली क्रिकेट खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ६ लाख र अन्य टिम अफिसियललाई जनही ३ लाखका दरले रकम उपलब्ध गराउने आजको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ।’

साथै उनले विज्ञापन ऐनअन्तर्गतको नियमावली बनाउनको निम्ति प्रक्रिया मिलाएर यसलाई अघि बढाउने भन्ने निर्णय पनि भएको बताइन्।

मन्त्रिपरिषद्को बुधवारको बैठकले कोशी टप्पु वन्यजन्तु आरक्षण स्थापना गर्दा विस्थापितहरूको सम्बन्धमा थप छानबिन गरी समस्या समाधान गर्न आयोग पुनः गठन गरी ३ महिना म्याद थप गर्ने पनि निर्णय गरेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार