क्रिकेट खेलाडी र प्रशिक्षकलाई जनही ६ लाख दिने सरकारको निर्णय
'कीर्तिपुर मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने घोषणा'
काठमाडौँ — एसीसी प्रिमियर लिग विजेता नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य र प्रशिक्षकलाई जनही ६ लाख रुपैयाँ दिने सरकारले निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले खेलाडीलाई ६ लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
त्यस्तै मन्त्रिपरिषद्को बैठकले कीर्तिपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउका लागि आगामी बजेटमा प्राथमिकता दिने पनि निर्णय गरेको छ ।
उनले भनिन्, ‘एसीसी प्रिमियर कप विजेता राष्ट्रिय क्रिकेट टिमका खेलाडी र प्रशिक्षकलाई जनही ६ लाख रुपैयाँ दिने निर्णय भएको छ ।’ त्यस्तै क्रिकेट टोलीका अफिसियललाई भने जनही ३ लाख रुपैयाँका दरले दिने निर्णय मन्त्रिपरिषद्ले गरेको उनले बताइन् ।
त्यस्तै, कीर्तिपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन आगामी बजेटमा प्राथमिकता दिने निर्णय गरिएको छ ।