विराटनगर : मोरङको कोनेपोखरी गाँउपालिका अध्यक्ष र वडाध्यक्षको कार्यकक्षमा तालाबन्दी गरिएको छ। प्रशासकीय भवन बनाउने निर्णयविरुद्ध गाउँपालिका अध्यक्ष राजमति इङ्गनाम र ६ नम्बर वडाका अध्यक्ष खडगबहादुर बस्नेतको कार्यकक्षमा मंगलबार तालाबन्दी गरिएको हो।
गाउँपालिकाले खरिद गरेको १ बिगाहा जग्गामा भएको अनियमितताको विषय सत्य तथ्य सार्वजनिक नगराई हुनसक्ने भ्रष्टाचारको ढाकछोप गर्ने उद्देश्यलाई बल पुर्याउने नियतबाट गाउँपालिकाको केन्द्र सार्ने र प्रशासकीय भवन बनाउने निर्णयविरुद्ध गाउँपालिका अध्यक्ष र वडाध्यक्षको कार्यालयमा तालाबन्दी गरिए स्थानीयले बताएका छन्।
निर्वाचित जनप्रतिनिधिहरूको बेथितिविरुद्ध गाउँपालिकाको अध्यक्ष र वडाध्यक्षको कार्यालयमा तालाबन्दी गरेको स्थानीय नवीन पौडेलले बताए।
सेवाग्राहीलाई सेवा प्रवाहमा कुनै पनि कठिनाइ नहुने तरिकाले आफूहरुले आन्दोलन गरेका बताउँदै उनले कानेपोखरी गाउँपालिको स्थानीय सरकार विधि र प्रक्रियामा चल्नुपर्ने मागसमेत गरे।
गाउँसभाको सोमबार बसेको बैठकमा भएको मतदानमा २७ जनाले गाउँपालिका र प्रशासकीय कार्यालय सार्ने पक्षमा बहुमतले पारित भएको थियो।
पालिकाकी अध्यक्ष राजमती इङ्नामको तर्फबाट वडा नम्बर २ का वडाध्यक्ष सुशील बुढाथोकीले गाउँसभामा पालिकाको केन्द्र पालिकाले खरिद गरेको वडा नम्बर ५ भौंसाबारीमा सार्ने प्रस्ताव गरेका थिए।