अमेरिकामा फेरि अर्को बैंक टाट पल्टिएको छ । फर्स्ट रिपब्लिक बैंक टाट पल्टिएको हो । यसअघि सिलिकन भ्याली र सिग्नेचर बैंक टाट पल्टिएका थिए । पछिल्लो दुई महिनामा अमेरिकामा ३ बैंक डुबेका हुन् । सन् १९८५ मा स्थापना भएको फर्स्ट रिपब्लिक बैंक टाट पल्टिएपछि नियामक निकायले स्वामित्व नियन्त्रणमा लिएर जेपी मोर्गन चेजलाई बिक्री गरेको छ । फर्स्ट रिपब्लिक बैंक अमेरिकाको १४औं सबैभन्दा ठूलो बैंक थियो । बैंकलाई नियामकीय निकाय फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशनले नियन्त्रणमा लिएर जेपी मोर्गनलाई हस्तान्तरण गरेको हो ।
१३ अप्रिल २०२३ सम्म, फर्स्ट रिपब्लिक बैंकको कुल सम्पत्तिमा लगभग २२९.१ बिलियन डलर र कुल निक्षेपहरूमा १०३.९ बिलियन थियो । सबै निक्षेपहरू ग्रहण गर्नुको अतिरिक्त, जेपी मोर्गन चेस बैंक, नेशनल एसोसिएसन, फर्स्ट रिपब्लिक बैंकको सबै सम्पत्तिहरू खरिद गर्न सहमत भएको छ ।
अब अमेरिकाको ८ राज्यमा रहेका फर्स्ट रिपब्लिक बैंकको ८४ कार्यालय जेपी मोर्गन चेस बैंकको रुपमा पुनः खुलेका छन् । फर्स्ट रिपब्लिक बैंकका खाताबहाक तथा ग्राहकहरु अब जेपी मोर्गनको ग्राहक बन्नेछन् । उनीहरुले अब आफ्नो एकाउन्टलाई जेपी मोर्गन चेस बैंकमा सञ्चालन गर्नेछन् । अर्थात ग्राहकहरुले फर्स्ट रिपब्लिकमा जम्मा गरेको पैसा पूर्ण रुपमा सुरक्षित रहेको छ ।
अमेरिकी नियामको बिमाको कोषलाई फस्र्ट रिपब्लिक बैंकले नोक्सान गरेका कारण करिब १३ अर्ब अमेरिकी डलर बराबरको जरिवाना भने बैंकले तिर्नुपर्ने हुन सक्ने अनुमान गरिएको छ । जेपी मोर्गन र फेडेरल डिपोजिट इन्सोरेन्स कर्पोरेसनले एकल परिवार तथा कमर्सियल ऋणको नोक्सानलाई पनि साझा गर्दै लैजाने बताइएको छ । धनाड्यलाई कमशल धितो राखेर ठूलो ऋणी दिएका कारण यो बैंक डुबेको हो ।
नेपालमा पनि बैंक तथा वित्तीय संस्थाहरुले धनाड्यलाई चालु पुँजी कर्जाका नाममा कमशल धितोमा १७ खर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका छन् । उक्त ऋण जोखिममा रहेको भन्दै राष्ट्र बैंकले कडाइ गरेको छ ।