साथीको मृत्युपछि उनकी श्रीमतिसँग नजिकिए, बिहे गर्न दबाब दिएपछि हत्या

गत वैशाख १९ गते मोरङ जिल्लाको रतुवामाई–६ मा मृत भेटिएकी सरीता सोरेनको हत्यारालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सरिताका प्रेमी रतुवामाई नगरपालिका–६ कपरसुकाका ३१ वर्षीय सुफल हस्दा रहेका छन् ।

३० वर्षीया सरिताले बिहेका लागि कर गर्न थालेपछि सुफलले कुटपिट गरेर र घाँटी थिचेर हत्या गरेपछि शव मकैबारीमा फ्यालिदिएको खुलेको छ । कानेपोखरी गाउँपालिका–१ होक्लाबारी घर भएकी सरिता वैशाख १७ गते बिहेमा जानका लागि भन्दै घरबाट निस्किएकी थिइन् । तर वैशाख १९ गते स्थानीय रामप्रसाद भण्डारीले अनुहार, घाँटी र शरीरका विभिन्न भागमा चोट रहेको अवस्थामा महिलाको विभत्स शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । एक सन्तानकी आमा सरीता कानेपोखरी–२ मा रहेको गाई फार्ममा काम गर्थिन् ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार बिहेमा जान भनेर उनी गाई फार्म र आफ्नो घरदेखि वैशाख १७ गते नै बिदा लिएर हिँडेकी थिइन् । त्यसपछि रतुवामाई पुगेर सरीताले सुफललाई भेटेपछि घटना भएको देखिने प्रहरीले जनाएको छ ।

डेढ महिनाअघिको घटनाका अभियुक्त लामो समयपछि बुधबारसाँझ मात्रै पक्राउ परेका छन् । घटनापछि सुफल फरार बनेका थिए । मोरङ प्रहरीका डीएसपी मञ्जील मुकारुङ नेतृत्वको टोलीले उनलाई महेन्द्रनगरको कञ्चनपुरबाट पक्राउ गरेर मोरङ ल्याइपु-याएको छ । प्रहरीले उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अदालतबाट बिहीबार म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट विगत ६ महिनाअघिदेखि सुफल र सरीताबीच प्रेम सम्बन्ध रहेको खुलेको छ । ‘प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्न सरीताले कर गर्न थालेपछि दुई जनाबीच वादविवाद भएको पाइयो,’ एसपी खड्काले भने, ‘त्यसपछि आवेगमा आएर कुटपिट गर्दै घाँटी थिचेर सुफलले हत्या गरेको खुल्यो ।’

सरीताका श्रीमानको तीन वर्षअघि नै मृत्यु भइसकेको थियो । प्रहरीका अनुसार सरीताका श्रीमान र सुफल चिनजानका साथी थिए । दुवै जना ट्याक्टर चालक रहेको खुलेको एसपी खड्काले दिए । उनका अनुसार साथीको मृत्यु भएपछि पुरानै चिनजानका आधारमा श्रीमती सरीतासँग सुफल नजिकिएका थिए ।

नजिकिने क्रममा दुई जनाबीच प्रेम बस्यो । ‘प्रेम सम्बन्धमा रहेका दुई जनाबीच रातको समयमा भेट भएछ । त्यही क्रममा सरीताले मलाई अब बिहे गरेर घरतिरै लैजानुभन्दै कर गर्न थालेको पाइयो,’ प्रहरीका एक अनुसन्धान अधिकृतले भने, ‘बिहे अस्वीकार गरेका सुफलले जिद्धि गर्न थालेपछि हत्या गरेर सरीताको शव भने मकैबारीमा फ्यालिदिएको पुष्टि भयो । पक्राउ गरेर अनुसन्धान थाल्दा सुफलले पनि यो कुरा स्वीकार गरिसकेका छन् ।’

उनका अनुसार कुटपिटबाट शरीरका करङ पनि भाँचिएका छन् । कपडा च्यातिएको र सरुवाल पनि सुर्किएको अवस्थामा सरीताको शव फेला परेको थियो ।

मृत्यु भएका साथीकी श्रीमतीसँग प्रेमका नाममा अवैध सम्बन्ध राख्दै आएका सुफलले भने त्यसअघि नै दुईवटा बिहे गरिसकेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घरमा सुफलका दुई श्रीमती र तीन सन्तान रहेको खुलेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार