गिरिजाले गरेको महाकाली सन्धि हामीले सच्यायौँ : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष ओलीले महाकाली सन्धि आफूहरूले सच्याएको दाबी गरेका छन् ।  तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले बाँध बाँध्नका लागि भारतलाई जमिन दिने गरी गरेको टनकपुर सहमतिलाई खारेज गरेर आफूहरूले बाँध बाँध्न मात्रै दिने गरी सो सन्धिलाई सच्याइएको ओलीको तर्क थियो ।

पार्टी निकट अखिल नेपाल किसान महासंघले आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले महाकाली सन्धि आफूहरूले सच्याएपछि त्यसबाट अनेक फाइदा भइरहेको दोहोर्‍याए ।

ओलीले भने, ‘२०५४ सालमा महाकाली सन्धिको अत्तो थापेर एमाले पार्टी फुटाउने काम भयो । महाकाली सन्धि, नबुझ्नेले अलि पछि बुझ्छन् । कोही कोही नबुझी बिते भने तिनका सन्तानले पछि बुझ्छन् । नपढीकन बिते भने के गर्ने रु तिनका सन्तानले बुझ्लान् । महाकाली सन्धि सच्याइएको सन्धि हो । हामीले गरेको सन्धि होइन । हामीले सच्याएको चाहिँ हो । हामी सरकारमा थिएनौँ, प्रतिपक्षमा थियौँ । प्रतिपक्षमा हुँदा खेरी पनि निर्णय पनि हामीले गरेका हौँ । जस पनि, अपजस दिनेले हामीलाई दिए । जस त एमालेलाई किन दिन्थे उनीहरू रु दिँदैनन् । अहिले पनि वर्षमा ४ अर्ब रुपैयाँ विद्युत् त नेपालले पाइराखेको छ । ४ अर्ब त वर्षमा त्यो सम्झौता गरेको हुनाले पाइराखेको छ । अरू पानीका फाइदाहरू यस्ता अनेक फाइदाहरू छन् । माथि पञ्चेश्वरका अनेक फाइदाहरू छन् ।’

अध्यक्ष ओलीले तत्कालीन प्रधानमन्त्री कोइरालाले भारतलाई जमिन दिने गरी गरिएको सम्झौतालाई होइन भनेर नेपाली जनतालाई ढाँट्ने काम गरेपछि त्यसलाई सच्याउने काम आफूहरूले गर्नु परेको समेत बताए । उनले भने, ‘यो दुई तिहाइमा आउनु पर्छ । र, दुई तिहाइले जमिन दिन कसैले पनि मिल्दैन । जमिन दिने होइन, हाम्रो जमिनमा बाँधसम्म बाँध्न दिन सकिन्छ । हाम्रो जमिनमा बाँध बाँध्न हामीले दियौँ । जमिन हाम्रो हो । पहिले चाहिँ बाँध बाँध्नका लागि जमिन दिने भनिएको थियो । हामीले हाम्रो जमिनमा बाँध बाँध्न दियौँ । एकदमै फरक छ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार