इन्स्पेक्टरको कुटाईबाट हवल्दार गम्भीर घाइते

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय डोल्पामा कार्यरत प्रहरी निरीक्षक नविन चापागाईंले प्रहरी हवल्दार हरि आरसीमाथि कुटपिट गरेका छन्।

कुटपिटबाट सल्यानको शिद्धकुमाख गाउँपालिका वडा नम्बर ३ स्थायी घर भएका ३७ वर्षीय आरसीको बायाँ आँखा, नाक र मुखमा गहिरो चोट लागेको छ।

हवल्दार आरसी जिल्ला कारागार डोल्पामा कार्यरत छन्। यो घटना शनिबार बिहान करिब ११ बजेको हो।

‘मलाई जिल्ला प्रहरी कार्यालयभित्रै बोलाएर प्रहरी निरीक्षक चापागाईंले कुटपिट गर्नु भयो,’ उनले भने, ‘मलाई बायाँ आँखा हेर्न गाह्रो भइरहेको छ, नाक पनि दुखिरहेको छ।’

हवल्दार आरसीको जिल्ला अस्पताल डोल्पामा सामान्य उपचार गरिएको छ। थप उपचारका लागि आइतबार उनी बाँकेको नेपालगञ्ज जाने तयारीमा छन्। ‘आँखाको उपचारका लागि म नेपालगञ्ज जानुपर्ने भयो,’ उनले भने।

प्रहरी नायव उपरीक्षक शिवबहादुर बुढाथोकीले पनि थप उपचारका लागि नेपालगञ्ज जान आग्रह गरेको उनले बताए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार