अझै तीन दिन वर्षा हुने

स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले काठमाडौँ उपत्यकासहित देशका पहाडी भेगमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। पश्चिमी वायुको प्रभावले देशभर बदलीसहित वर्षा भइरहेको विभागले जनाएको छ।

“पश्चिमी वायुको प्रभावसँगै स्थानीय वायुको समिश्रणले वर्षा गराएको छ । रातिको समयमा दिउँसोको भन्दा सिस्टम कमजोर हुने भएकाले वर्षा कम हुन्छ । भोलि र पर्सि पनि वर्षाको सम्भावना छ”, मौसमविद् गङ्गा नगरकोटीले बताए। प्रि–मनसुन पनि सक्रिय रहेकाले मेघगर्जन÷चट्याङसहित वर्षा भएको र यो क्रम केही दिन जारी रहने मौसमविद् नगरकोटीको भनाइ छ ।

भोलि आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा हावाहुरीको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाको पछिलो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा ३१ मिलीमिटर वर्षा भएको छ।

त्यस्तै पोखरामा २३ दशमलव दुई मिलीमिटर, ताप्लेजुङमा २२ र लुम्लेमा १९ मिलीमिटर वर्षा भएको छ । महाशाखाका अनुसार ५० मिलीमिटर मध्यम र ५० मिलीमिटरभन्दा माथिको वर्षालाई भारी वर्षा भनिन्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार