मेलम्ची र हेलम्बुका बाढी पीडितका लागि काठमाडौं महानगरको दुई करोड सहयोग

काठमाडौं महानगरपालिकाले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका बाढी प्रभावितलाई दुई करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । महानगरका मेयर विद्यासुन्दर शाक्यले बिहीबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सो कुराको घोषणा गरेका हुन् । यो रकम बाढी प्रभावितको राहत तथा उद्धारका लागि खर्च गर्नका लागि दिइने मेयर शाक्यले बताएका छन् ।

मेलम्ची नदीमा आएको बाढीले गरेको धन–जनको क्षतिपछि राहत तथा उद्दारका लागि सो रकम सहयोग गरिएको प्रमुख शाक्यले जानकारी दिए । मेलम्ची नगरपालिका काठमाडौं महानगरसँग भगिनी सम्बन्ध स्थापित नगर हो ।

नगर–नगर साझेदारी कार्यक्रम अन्तर्गत मेलम्चीबजार नजिक इन्द्रावती नदीको किनारमा जोडिएको स्थलमा पानीको फोहरा, हेलिप्याड, पर्यटक विश्रामस्थल, बालबालिका खेलकुद कक्ष सहितको रमणीय तथा पर्यटकीय मेलम्ची सिटी पार्क निर्माणका लागि महानगरले यसअघि १ करोड ५० लाख रकम अनुदान दिने सम्झौता गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार