पैसा बाँड्दै हिंड्ने अभ्यासले मुलुकको अर्थतन्त्र संकटमा पर्छ : माधव नेपाल
'लडाकुलाई रकम दिनेबारे प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने भनाई'
जनकपुरधाम । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले लडाकुलाई रकम दिनेबारे प्रधानमन्त्रीले सत्ता गठबन्धनमा आवद्ध दलहरूलाई प्रष्ट पार्नुपर्ने बताएका छन् ।
शुक्रबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपालले लडाकुलाई रकम दिनेबारे आफूले प्रधानमन्त्रीलाई सोधेको बताए । ‘लडाकु वा अरु कोही पीडितलाई रकम दिँदै जाने तरिका पनि ठिक होइन’ उनले भने, ‘मैले यो कुरा प्रधानमन्त्रीजीलाई भनेको थिएँ । उहाँले नयाँ रकम हामीले दिएको छैन भन्नुभयो ।’
पैसा बाँड्दै हिंड्ने अभ्यासले मुलुकमा राम्रो परिपाटी नबस्ने उनले बताए । ‘यसरी पैसा बाँड्दै हिंड्ने हो भने एकातिर अहिले राज्यको आर्थिक अवस्था राम्रो छैन । राम्रो भए पनि परिपाटी राम्रो बस्दैन’ उनले भने, ‘के भएको हो भन्ने बारेमा घटक दलहरूबीचमा प्रष्ट पार्नुपर्ने आवश्यकता छ ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लडाकुलाई रकम दिने पुरानै निर्णय भएको बताएको उनले जानकारी दिए । ‘मैले नयाँ निर्णय गरेको होइन, पुरानै निर्णय हो, नयाँ रकम होइन’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै नेपालले भने, ‘पहिले दिन बाँकी रकम दिइएको हो ।’