आज कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

नेपाली कांग्रेसको आज केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । कांग्रेस नेताहरुले आजको केन्द्रीय समिति बैठकमा पार्टीको १४ औं महाधिवेशन कहिले र कसरी गर्ने भन्नेमा केन्द्रित रहने बताएका छन् ।

सभापति शेरबहादुर देउवाको निवासमा पछिल्लोपटक बसेको पदाधिकारी बैठकले भदौ ७ देखि गर्ने तय भएको महाधिवेशन भदौ १६ देखि गर्ने गरी प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव छलफल गरी निर्णय गर्नका लागि आज केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बस्ने तयारी रहेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । कांग्रेसले कोरोना महामारीका कारण क्रियाशील सदस्यता वितरण र नवीकरणका काममा ढिलाइ हुँदा पूर्वनिर्धारित कार्यतालिका केही हेरफेर गरी महाधिवेशन गर्ने बताएको छ ।

नयाँ कार्यतालिकाअनुसार क्रियाशील सदस्यतामाथि छानविन सकेर असार २० गतेभित्र पार्टी सभापतिलाई बुझाइसक्न प्रस्ताव गरिएको छ । क्रियाशील सदस्यहरुको नामावली सभापतिबाट हस्ताक्षर भई असार २४ गते पार्टीको निर्वाचन समितिलाई बुझाउने कार्यतालिका बनेको छ ।

भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने गरी तयारी गरिएको छ । कोरोना महामारी कायमै रहेको अवस्थामा कसरी महाधिवेशन गर्ने भन्नेबारे पनि आज बैठकमा छलफल हुने बताइएको छ । कांग्रेसमा केन्द्रीय समिति चयन गर्न महाधिवेशन प्रतिनिधि एकै ठाउँमा भेला भएर मतदान गर्ने गरिन्थ्यो ।

जिल्ला, क्षेत्र वा प्रविधि प्रयोग के गरेर महाधिवेशन गर्न सकिन्छ भन्नेबारे आज केन्द्रीय समितिमा छलफल गरी टुंगो लगाइने भएको छ । कांग्रेसले १० लाख क्रियाशील सदस्य बनाउने भनेकोमा अहिलेसम्म ८ लाख क्रियाशील सदस्य बनेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार